arrow

प्रतिनिधि सभा

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरियो, एक-एक इन्चको हिसाब चाहिन्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
nisxal-rai-024.jpg

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो भन्नेबारे संसद्मा स्पष्ट जवाफ दिन माग गरेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक निश्कल राईले यस्तो माग गरेका हुन्।

उनले प्रधानमन्त्री साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षा विपरीत रहेको टिप्पणी गर्दै यसले तीन करोड नेपालीको शिर निहुरिएको बताए। प्रधानमन्त्रीले संसदमै उभिएर नेपालले भारतको कुन-कुन भूभाग मिचेको हो भन्ने कुरा स्पष्ट रूपमा राख्नुपर्ने उनको भनाइ छ।

प्रमुख सचेतक राईले प्रधानमन्त्रीले छाति चौडा बनाउँदै रोष्ट्रममा उभिएर 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनी बोलेको विषय संसद्मा रेकर्ड भई नजिरको रूपमा स्थापित भएको उल्लेख गरे। उक्त अभिव्यक्तिमा सत्तापक्षका सांसदहरूले गर्वका साथ ताली पड्काएको प्रति असन्तुष्टि जनाउँदै उनले उनीहरूमा पनि अलिकति आत्मग्लानी हुनुपर्ने बताए।

सार्वभौम संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषयमा आफ्नो दलको असहमति (नोट अफ डिसेन्ट) रहेको स्पष्ट पार्दै उनले प्रधानमन्त्री पुनः रोष्ट्रममा उभिएर नेपालले भारतको जग्गा मिचेको ठाउँको एक-एक इन्चको हिसाब दिनुपर्ने माग गरे। यो स्वाभिमान र राष्ट्रिय सुरक्षाको विषय भएकाले भोलि भारतले जग्गा फिर्ता मागेमा कुन जग्गा फिर्ता दिने भनी उनले प्रश्न गरे।

रोष्ट्रममा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरीत रहेको टिप्पणी गर्दै राईले यसले सीमाको विषयमा नेपालले गर्दै आएको दाबीलाई कमजोर बनाउने बताए। साथै, यस अभिव्यक्तिले विश्वमा 'नेपाल पनि सीमा आक्रमणकारी हो' भन्ने गलत भाष्य स्थापित गरेको उनको आरोप छ। प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहले संसद् समक्ष माफी मागेर आफ्नो सो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् चल्न नसक्ने समेत स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ