प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत, संसद्को रोष्ट्रमबाटै माफी माग्नुपर्छ: श्रम संस्कृति पार्टी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
761
Shares
काठमाडौँ । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र साहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई 'राष्ट्रघाती' ठहर गर्दै तत्काल माफी माग्नुपर्ने माग गरेको छ । नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको निष्कर्ष निकाल्दै उक्त पार्टीका सांसद आर्यन राईले संसद्को रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गरेका हुन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले नेपालले कुनै पनि मुलुकको भूमि नमिचेको स्पष्ट पारे । प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइप्रति आक्रोश पोख्दै उनले प्रश्न गरे, "भोलि भारतले पनि हाम्रो भूमि फिर्ता गर भनेर माग्यो भने हामीले कुन भूमि फिर्ता दिने ?" प्रधानमन्त्री शाहको यस्तो कमजोर, मिथ्या र तथ्यहीन अभिव्यक्तिले आफूलाई गहिरो दुःख र लज्जाबोध गराएको समेत उनले संसद्मा बताए ।
बैठकमा आफ्नो धारणा राख्दै सांसद राईले भने, "नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनीतिक दल, सरकार वा व्यक्तिको मात्रै विषय होइन । यो सम्पूर्ण नेपाली जनताको साझा भावना, संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिएको विषय हो । त्यसैले यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैं स्पष्ट, जिम्मेवार र राष्ट्रहितको अनुकूलतामा हुनुपर्दछ ।"
उनले अगाडि थपे, "मलाई हाम्रा प्रधानमन्त्रीज्यूले यस्तो कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्छ भन्ने थाहा भएको भए म त्यो प्रश्न नै सोध्ने थिइनँ, मलाई आज त्यो प्रश्न सोधेकोमा लज्जाबोध भइरहेको छ । प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउने कुरा मात्रै पर्याप्त छैन, इतिहासमा यस्तो नजिर स्थापित भयो जसले भोलि संकट निम्त्याउन सक्छ ।" सांसद राईले जसरी प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा आएर राष्ट्रको हित विपरीत अभिव्यक्ति दिएका छन्, त्यसरी नै यहीँ आएर माफी माग्दै आफ्ना शब्दहरू फिर्ता लिनुपर्ने अडान राखेका छन् ।