हाइड्रोजन सवारीको बाटो खुल्दै, नीति बनाउन मागियो सुझाव
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
174
Shares
काठमाडौँ। नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो र प्रभावकारी विकासका लागि सरकारले आवश्यक नीति तथा कानुनी आधार तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
पूर्वाधार विकास मन्त्रालयले हाइड्रोजन सवारी प्रविधिसम्बन्धी नीतिगत, कानूनी तथा प्राविधिक ढाँचा तयार गर्न विज्ञ, विशेषज्ञ तथा सरोकारवालाबाट लिखित सुझाव मागेको हो।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, सञ्चालन निर्देशिका तथा आवश्यक जनशक्ति विकासका विषयमा सुझाव संकलन गरिनेछ।
यस प्रक्रियामा विश्वविद्यालय, अनुसन्धान संस्था, उद्योग, व्यावसायिक संगठन, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
मन्त्रालयले मुख्य रूपमा हाइड्रोजन सवारीसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव, नीतिगत व्यवस्था, हाइड्रोजन उत्पादनदेखि इन्धन भर्ने पूर्वाधारसम्मका सुरक्षा मापदण्ड तथा सञ्चालन प्रणालीका विषयमा सुझाव मागेको छ।
साथै, हाल सञ्चालनमा रहेका इन्टरनल कम्बसन इन्जिन (आईसीई)युक्त सवारीलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्न सकिने सम्भावना, त्यसको लागत र प्राविधिक पक्षबारे पनि सुझाव दिन आग्रह गरिएको छ।
इच्छुक व्यक्ति तथा संस्थाले आगामी साउन २० गतेभित्र मन्त्रालयको आधिकारिक इमेलमार्फत आफ्नो सुझाव पठाउन सक्नेछन्। सुझावसँगै सम्बन्धित संस्था वा निकायको परिचय, कार्यक्षेत्र र अनुभवसमेत समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषणपछि नेपालमा हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि आवश्यक नीति, कानूनी व्यवस्था र कार्यविधि तयार गरिनेछ।
सरकारको यो पहलले वातावरणमैत्री, स्वच्छ ऊर्जा र आधुनिक प्रविधिमा आधारित यातायात प्रणाली विकासतर्फ महत्त्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।