विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ: राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
166
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणका सबै योजना मानव र प्रकृतिलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने बताएका छन्।
नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण, समृद्धि र दिगोपनसँग जोडिनुपर्नेमा जोड दिए।
विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय विविधता तथा नयाँ पुस्ताको आवश्यकता र आकांक्षालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई तीव्र बनाउँदै दिगो विकासको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
भौगोलिक रूपमा जटिल भए पनि प्राकृतिक स्रोतसाधनले धनी नेपाललाई अहिले वातावरणमैत्री र दिगो पूर्वाधार विकासको खाँचो रहेको उनले बताए।
जलवायु परिवर्तन मुलुकका लागि ठूलो चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सडक, पुल, जलविद्युत् लगायतका पूर्वाधार प्राकृतिक विपद् प्रतिरोधी हुनुपर्नेमा जोड दिए।
उनले नेपालको विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्ने धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले विकास र मानवीय हितका विविध आयामलाई सम्बोधन गर्ने भएकाले लोकतन्त्रको मूल्य र मर्मलाई व्यवहारमा लागू गर्नुपर्ने बताए।
लोकतन्त्रको सफल कार्यान्वयनबाट मात्रै समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।
युवा इन्जिनियरहरूको क्षमताको प्रशंसा गर्दै उनले देशको भविष्य युवाको सोच, ऊर्जा र सीपमा निर्भर रहने बताए।
दक्ष युवा इन्जिनियर रोजगारीको खोजीमा विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रलाई स्वदेशमै पर्याप्त रोजगारी, उचित मूल्याङ्कन र अनुकूल कार्य वातावरण सिर्जना गर्न आग्रह गरे।