प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
855
Shares
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले प्रधानमन्त्री वालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति विरुद्ध विरोध प्रदर्शन गरेको छ। तरुण दलले सोमबार माइतीघरमा भेला भई प्रदर्शन गरेको हो।
प्रधानमन्त्री साहले आइतबार प्रतिनिधि सभाको बैठकमा 'नेपालले भारतको भूमि मिचेको छ' भनी अभिव्यक्ति दिएका थिए। कार्यकारी प्रमुखको तहबाट आएको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै तरुण दलले सडकबाट सरकारलाई खबरदारी गरेको हो।
प्रदर्शनमा सहभागी युवा तथा नेताहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर विरोध जनाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘नेपालको भुईं प्यारो छ, हलुका टिप्पणी अक्षम्य छ !’, ‘कार्यकारी प्रमुख हो कि देशकै बोझ ?’, ‘सस्तो गफ बन्द गर, राष्ट्रियताको रक्षा गर !’, ‘देशको सीमा र स्वाभिमान, हाम्रो प्राण !’, ‘फरक छ नि प्र।म ज्यू, कुटनिति र डोजर नितिमा’, ‘पिएम बालेन राष्ट्रप्रेम स्टाटसमा होइन, व्यवहारमा देखाउ’, ‘र्याप र जोकतन्त्र होइन, लोकतन्त्र ! एल्गोरिदमले धान्दैन शासनतन्त्र !!’, र ‘सामान्यज्ञान पढ्नुस् प्रधानमन्त्रीज्यू !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ लगायतका कडा नाराहरू लेखिएका प्ले कार्ड बोकेका थिए।