arrow

झापा हत्याकाण्डको रहस्य खोतल्दै प्रहरी

रतुवा पुलको रहस्यमय शव प्रकरण : घरबाट प्रेमी भेट्न निस्किएकी रमा बोराभित्र मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
rama-tiwari.jpg

काठमाडौँ । गत जेठ १५ गते गौरादह र दमकको सीमास्थित रतुवा खोलाको पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शव दमक नगरपालिका–८ बसन्त टोल निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको रहेको पुष्टि भएको छ। शवको पहिचान भएसँगै यो रहस्यमय घटनाका नयाँ र गम्भीर तथ्यहरू बाहिर आउन थालेका छन्।

पारिवारिक स्रोतका अनुसार रमा र ती युवकबीच लामो समयदेखि घनिष्ठ प्रेम सम्बन्ध थियो, जसलाई परिवारले समेत स्वीकार गरिसकेको थियो। तर लागुऔषध दुर्व्यसनमा परेका कारण ती युवकलाई परिवारले सुधार केन्द्रमा राखेको थियो र उनीहरूबीच लामो समयदेखि भेटघाट हुन पाएको थिएन।

जेठ १३ गते साँझ मात्र ती युवक सुधार केन्द्रको निर्धारित कोर्स पूरा गरी बाहिरिएका थिए। बाहिरिएलगत्तै उनले रमाको मोबाइलमा फोन गरेर भेट्न बोलाएका थिए। मृतककी आमा मुना तिवारीका अनुसार सोही राति करिब ९:३० बजे आमासँग अनुमति लिएर उनी स्वेच्छाले घरबाट निस्किएकी थिइन्, तर त्यसपछि कहिल्यै फर्किनन्। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले प्रहरीले अहिले ती युवकको नाम र ठेगाना गोप्य राखेको छ।

स्थानीयवासीले पुलमुनि बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुरुमा पहिचान नखुल्दा प्रहरीले यसलाई अत्यन्तै रहस्यमय मानेर अनुसन्धान थालेको थियो। घटनास्थलको प्रकृतिका आधारमा रमाको हत्या अन्यत्रै गरेर शव लुकाउने उद्देश्यले खोलामा ल्याएर फालिएको आशंका गरिएको छ।

शव फेला परेको पाँच दिनपछि आमा मुना तिवारी र बुवा नारायण तिवारीले घटनास्थल र प्रहरीको सम्पर्कमा पुगेर शवको सनाखत गरेका थिए। पहिचान खुलेपछि शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। पोस्टमार्टमपछि सोमबार परिवारले उनको दाहसंस्कार गरिसकेको छ।

यो क्रूर घटनाले झापा जिल्लाभरि नै व्यापक चासो र त्रास फैलाएको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय झापाबाट फरेन्सिक चिकित्सकसहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको छ।

प्रहरीले मोबाइलको कल डिटेल, रमाको अन्तिम भेटघाट र शङ्कास्पद व्यक्तिहरूको गतिविधिको सूक्ष्म विश्लेषण गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय झापाले प्रमाणका आधारमा दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाउँदै अनुसन्धान निष्कर्षको नजिक पुगेको संकेत दिएको छ। यता मृतकका दिदीबहिनी र आमाबुवाले भने घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

यो पनि पढ्नुस् :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ