arrow

शान्तिबाटिकामा श्रम संस्कृतिको खबरदारी सभा, बालेनको राजीनामा माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
sharmasaskriti-khabardari.jpg

काठमाडौँ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र साह बालेनको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उनको राजीनामा माग गरेको छ। हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले मंगलवार काठमाडौँको शान्तिबाटिकामा एक खबरदारी सभाको आयोजना गरी प्रधानमन्त्री साहको राजीनामा मागेको हो।

खबरदारी सभालाई सम्बोधन गर्दै नेता सन्तोष राईले प्रधानमन्त्री साहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावनामा गम्भीर चोट पुर्‍याएको आरोप लगाए। प्रधानमन्त्रीको यस्तो सीमासम्बन्धी अभिव्यक्तिले सार्वभौम राष्ट्र नेपालको प्रतिष्ठामा धक्का पुग्नुका साथै स्वाभिमानी नेपाली नागरिकको आत्मसम्मानमा चोट पुगेको भन्दै उनले यस कदमको घोर भर्त्सना गरे।

नेता राईले वालेन्द्र साह काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) रहँदा आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा राख्ने तर प्रधानमन्त्री बनेपछि नेपालको भूमि र सीमासम्बन्धी फरक धारणा सार्वजनिक गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरे। प्रधानमन्त्री साहको यो अभिव्यक्ति राष्ट्रिय हित र स्वाभिमानमाथिको प्रहार भएको ठहर गर्दै उनले प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा माफी माग्न वा तत्काल पदबाट राजीनामा दिन आग्रह गरे।

उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले सम्मानित सदनमा नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको अभिव्यक्तिको घोर भर्त्सना गर्न र उहाँलाई सुध्रिनका लागि ध्यानाकर्षण गराउन हामी यहाँ आएका हौँ। उहाँको अभिव्यक्तिले सारा नेपाली रुष्ट हुनुका साथै सार्वभौम नेपालीको शिर निहुरिएको छ। महानगरको मेयर हुँदा ग्रेटर नेपालको नक्सा राख्ने अनि प्रधानमन्त्री भएपछि नेपाल नै बुझाउने जस्तो कुरा गर्ने? यसमा हाम्रो घोर आपत्ति छ। उहाँले जुन ठाउँमा यो अभिव्यक्ति दिनुभएको हो, त्यहीँ गएर आम नागरिकसमक्ष माफी माग्नुपर्छ, अन्यथा राजीनामा दिनुपर्छ।”

प्रधानमन्त्री साहले आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलहरूले समेत सङ्घीय संसद्को बैठकमा लगातार अवरोध सिर्जना गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ