arrow

दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
king-birendra-19.jpg

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गरेको छ। प्रतिष्ठानले मङ्गलबार स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५ औँ स्मृतिसभाको आयोजना गर्दै दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो। दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा हुँदासम्म पनि घटनाको निष्पक्ष छानबिन हुन नसक्नु अत्यन्त दुर्भाग्यपूर्ण रहेको प्रतिष्ठानका महासचिव रञ्जित धमलाले बताए।

२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड नेपालको इतिहासकै अत्यन्त दुःखद् र रहस्यमय घटनामध्ये एक भएको उल्लेख गर्दै महासचिव धमलाले राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको उक्त घटनाको वास्तविकता अझै जनतासामु आउन नसक्नु राज्यको गम्भीर कमजोरी भएको टिप्पणी गरे। उनले दरबार हत्याकाण्ड भएको उक्त दिनलाई नेपालको इतिहासमा ‘कालो दिन’का रूपमा औपचारिक रूपमा दर्ज गर्नसमेत सरकारसँग माग गरे।

महासचिव धमलाले भने, “आज दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ र यतिका समय बितिसक्दा समेत यसको सत्यतथ्य छानविन गरी वास्तविकता सार्वजनिक हुन नसक्नु विडम्बना हो। प्रतिष्ठान तत्काल यस घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दछ। राजा वीरेन्द्रको २५औँ स्मृति सभा गरिरहँदा हामी भावुक भएका छौँ र हामीलाई टुहुरो भएको महसुस भएको छ। देश तथा विदेशमा रहेका प्रत्येक नेपालीले उहाँको योगदान र त्यागलाई कहिल्यै भुल्न सक्दैनन्। २०५८ जेठ १९ को घटनालाई नेपालको इतिहासमा कालो दिनको रूपमा लिइने हुनाले यस दिनलाई औपचारिक रूपमै कालो दिनका रूपमा दर्ज गर्न प्रतिष्ठान सरकारसँग माग गर्दछ।”

नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय स्तरमा शान्तिप्रेमी नेतृत्वको पहिचान स्थापित गरेको प्रतिष्ठानले जनाएको छ। उक्त प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरे पनि केही राष्ट्रको असहमतिका कारण कार्यान्वयन हुन नसकेको स्मरण गर्दै प्रतिष्ठानले राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र’ प्रस्तावलाई पुनर्जीवित गर्न तथा देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार र सरोकारवाला निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ। राजा वीरेन्द्रको २५औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले जावलाखेलको वीरेन्द्र चोकमा विशेष कार्यक्रम आयोजना गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ