निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
705
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्। मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले ती विधेयकहरू प्रमाणीकरण भएको जानकारी सदनलाई गराएका हुन्।
गत जेठ १७ गते नै राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएका ती विधेयकहरूको पत्र सभामुख अर्यालले मङ्गलवारको बैठकमा पढेर सुनाएका थिए। सीमा विवादको विषयलाई लिएर प्रतिपक्षी दलहरूले संसद्मा गरिरहेको तीव्र विरोध र नाराबाजीका बीच सभामुख अर्यालले दुवै विधेयक प्रमाणीकरणको सक्कली प्रति संलग्न भई आएको पत्र वाचन गरेर सुनाएका थिए।
सभामुखले पढेर सुनाएको पत्रमा नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संसद्का दुवै सदनबाट पारित भई आएका ‘प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३’ र ‘मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३’ २०८३ जेठ १७ गते प्रमाणीकरण भएको व्यहोरा उल्लेख छ।