नयाँ दिल्लीमा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
996
Shares
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मङ्गलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। नयाँ दिल्लीमा भएका ती भेटघाटहरूमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको छ।
भारतीय गृहमन्त्री अमित शाहसँगको भेटमा उनले सभापति लामिछानेलाई रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताप्रति विशेष बधाई दिएका थिए। साथै गृहमन्त्री शाहले नेपालको नयाँ सरकारको सफलताका लागि भारत सरकारको तर्फबाट शुभकामना समेत व्यक्त गरे। भारतीय गृहमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत दिएको जानकारी अनुसार उक्त भेटमा भारत र नेपालबीचको ऐतिहासिक एवं विशेष सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन दुवै पक्षले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
गृहमन्त्री शाहसँगको भेटवार्तापछि सभापति लामिछानेले भारतका विदेशमन्त्री एस जयशङ्करसँग पनि फलदायी भेटघाट गरेका छन्। भेटपछि लामिछानेले सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशङ्करसँग नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा निकै रचनात्मक छलफल भएको उल्लेख गरे। उनले दुई देशबीचको विकास साझेदारी, जनस्तरको सम्बन्ध तथा आपसी हितका बहुआयामिक पक्षहरूलाई थप मजबुत र प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको जानकारी दिएका छन्।