काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्री वालेन्द्र साहले दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती’ र ‘देशद्रोही’ को संज्ञा दिएका छन्। प्रधानमन्त्रीले संसद्मा विना कुनै पूर्वकार्यतालिका अचानक उपस्थित भई 'नेपालले भारतको सीमा मिचेको' भनी दिएको बयानप्रति ओलीले तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।
संसद्को रोस्ट्रमबाट प्रधानमन्त्रीले 'नेपालले भारतको धेरै ठाउँमा सिमाना मिचेको छ' भन्नु पूर्णतः असत्य, झुट र राष्ट्रघाती वचन भएको ओलीले बताए। नेपालले भारतको एक इन्च जमिन पनि नमिचेको स्पष्ट पार्दै उनले यस्तो गम्भीर र भ्रामक कुरा प्रधानमन्त्री जस्तो जिम्मेवार ओहोदामा बसेको व्यक्तिले बोल्नु देशको अहितमा रहेको जिकिर गरे।
अध्यक्ष ओलीले द्विपक्षीय सीमा समस्या समाधानका लागि तेस्रो मुलुक (बेलायत) लाई संलग्न गराउने प्रधानमन्त्रीको प्रस्तावलाई समेत अदूरदर्शी र अकुटनीतिक कदमको रूपमा व्याख्या गरे। नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितका विषयहरू कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै ओलीले स्थापित नीतिहरूलाई भवितव्यले पदमा पुगेका व्यक्तिले मनलाग्दी ढङ्गले चलाउन नमिल्ने चेतावनी दिए।
उनले आक्रोश पोख्दै भने, "नेपाल तपाईंको घरको सम्पत्ति होइन। यो देशले आफ्ना राष्ट्रिय हित र परराष्ट्र नीति तय गरेको छ। एकछिन कोही भुलचुकले प्रधानमन्त्री पदमा आइपुग्यो भन्दैमा देशको बारेमा जथाभावी गर्न मिल्दैन र गर्न दिइने पनि छैन। हामी हाम्रा छिमेकीसँगको विवाद आफैँ दुईपक्षीय रूपमा बसेर समाधान गर्छौँ, तेस्रो पक्षलाई सामेल गर्दैनौँ।"
संसद्को कार्यव्यवस्थाप्रति असन्तुष्टि जनाउँदै ओलीले प्रधानमन्त्री अचानक संसद्मा झुल्किएर नियमावली विपरीत प्रश्नोत्तरको तमासा देखाएको आरोप लगाए। यस क्रममा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै ओलीले प्रधानमन्त्रीले राष्ट्रघाती कुरा गर्दा रोक्न नसक्ने तर राष्ट्रियताको पक्षमा आवाज उठाउने प्रतिपक्षी सांसदहरूमाथि कारबाहीको तयारी गर्नु न्यायोचित नभएको टिप्पणी गरे।
नेकपा एमालेका सांसदहरू देश, लोकतन्त्र, सुशासन र विकासका लागि संघर्ष गर्न संसद् गएकाले उनीहरूमाथि हुने भनिएको कारबाहीको प्रयासको उनले प्रतिवाद गरे। "केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ भने गर्नुस्, म यहीँ छु। यस्ताहरूले खुट्टा ढ्यापढ्याप गर्दैमा देश छोडेर भागिहिँड्ने मान्छे म होइन," भन्दै अध्यक्ष ओलीले देशको सिमाना र सार्वभौमसत्ताको रक्षाका लागि आफ्नो पार्टीले निरन्तर संघर्ष जारी राख्ने दृढता व्यक्त गरे।