arrow

काम अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
sikta-sinchai-banke.jpg

काठमाडौँ । बाँकेको खजुरा गाउँपालिकाले विकास योजनाहरूको काम समयमै सम्पन्न नगरी अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कडा कारबाही गर्दै ठेक्का सम्झौता रद्द गरेको छ। लामो समयसम्म पनि निर्माण कार्यमा कुनै सुधार नदेखिएको र काम सम्पन्न गर्न व्यवसायीले चासो नदेखाएपछि गाउँपालिकाले एकैसाथ पाँच वटा योजनाको ठेक्का सम्झौता अन्त्य गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार बर्दियाको गुलरिया–५ स्थित अमन कन्स्ट्रक्सनसँग विभिन्न वडाका योजना निर्माणका लागि गरिएका पाँच वटै सम्झौता रद्द गरिएका हुन्।

अमन कन्स्ट्रक्सनले खजुरा गाउँपालिका–४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्ने जिम्मा पाएको थियो। २०७७ फागुन १२ गते भएको सम्झौता अनुसार उक्त कम्पनीले २०७८ जेठ ३० गतेभित्रै निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने कानुनी प्रावधान थियो। दुई भागमा अलग–अलग ठेक्का आह्वान गरिएको यस योजनामा प्रारम्भिक चरणमा ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक पुनः पुरानै अवस्थामा फर्केर जीर्ण बनेको छ।

 यसका साथै सोही कम्पनीले ठेक्का पाएका अन्य महत्त्वपूर्ण चार योजनाहरू पनि वर्षौँदेखि अधुरै रहेका छन्। जसमा एनआइसी बैङ्कदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति, तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजनाहरू समावेश छन्।

लामो समयसम्म काम ठप्प पारेर विकास अवरुद्ध गरेपछि गाउँपालिकाले उक्त निर्माण कम्पनीलाई कारबाहीको कानुनी प्रक्रिया अगाडि बढाएको थियो। निर्माण कार्यको प्रगति सन्तोषजनक नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको थियो। सार्वजनिक सूचना जारी भएर तोकिएको म्याद गुज्रिसक्दा पनि व्यवसायीले सम्झौताबमोजिम निर्माण कार्य अगाडि बढाउने कुनै विश्वसनीय आधार वा स्पष्टीकरण पेस गर्न नसकेपछि अन्ततः गाउँपालिकाले अमन कन्स्ट्रक्सनसँगको सबै सम्झौता अन्त्य गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ