काठमाडौँ । मधेस प्रदेशमा कुल बालबालिकामध्ये झण्डै १६ प्रतिशतमा कुपोषणको गम्भीर समस्या देखिएको छ। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीका अनुसार हालै विशेष अभियानमार्फत गरिएको स्वास्थ्य परीक्षणका क्रममा यो चिन्ताजनक तथ्य फेला परेको हो।
स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले प्रदेशका १३६ स्थानीय तहमध्ये १३३ वटामा पोषण अवस्थाको व्यापक परीक्षण सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्थाको विस्तृत मूल्याङ्कन गरिएको थियो।
निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार परीक्षण गरिएका बालबालिकामध्ये दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेका छन् भने ३५ हजार ८८३ जनामा कुपोषण र आठ हजार ७७१ जनामा शीघ्र कुपोषणको समस्या देखिएको छ। समग्रमा मधेस प्रदेशमा कुपोषित र शीघ्र कुपोषित बालबालिकाको कुल सङ्ख्या ४४ हजार ६५४ पुगेको छ, जुन कुल परीक्षण गरिएको जनसङ्ख्याको १५।७६ प्रतिशत हुन आउँछ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापित मापदण्डअनुसार यो प्रतिशत र अवस्था अत्यन्त सङ्कटपूर्ण मानिन्छ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपानका कारण कुपोषणको समस्या दिनानुदिन जटिल बन्दै गएको बताए। यसै गरी, मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रदेश सचिव डा। प्रमोद यादवले कृषि उत्पादनका दृष्टिकोणले मुलुककै सम्पन्न मानिने मधेस क्षेत्रमा बाल कुपोषणको दर यसरी उच्च हुनु निकै चिन्ताको विषय भएको उल्लेख गरे।
नेपालको कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्ने र देशका कुल बालबालिकामध्ये करिब २९ प्रतिशत बालबालिका मधेसमै जन्मिने भएकाले पनि यो समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।