अपराध नियन्त्रणदेखि समाज रुपान्तरणसम्म डीएसपी डा केसी
नारायण वली,
प्रकाशित २०८३ जेठ २३ शनिबार
473
Shares
लुम्बिनी । नेपाल प्रहरीले कानून कार्यान्वयन र शान्तिसुरक्षा कायम गर्ने परम्परागत दायित्वभन्दा माथि उठेर पनि जनसेवा गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण प्रहरी नायव उपरीक्षक (डीएसपी) डा हेम केसीले प्रस्तुत गरेका छन् । सल्यानमा करिब ११ महिना प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका उनले कार्यालयको पारदर्शिता, व्यावसायिकता, समाजसेवा, पूर्वाधार निर्माण र मानवीय उद्धारमा अभूतपूर्व योगदान पुर्याएर देखाएका हुन् ।
प्रहरी इतिहासमै पहिलो र नौलो प्रेरणादायी कार्य गरेर जनस्तरबाट असीम माया र बुढीआमाहरुको आशीर्वाद बटुलेका डा.केसीको जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर जेठ १९ गते जिम्मेवारी लिएसँगै उनको आगामी भूमिका र कार्यशैली कस्तो होला भन्ने विषयमा अहिले चौतर्फी चासो र चर्चा सुरु भएको छ । सल्यानमा रहँदा प्रहरी भनेको दण्ड दिने निकाय मात्र नभई संकटमा परेकाहरुलाई काँध थाप्ने साथी हो भन्ने प्रमाणित मात्रै गरेनन् बर्दीको आडमा रवाफ देखाउने परम्परा तोड्दै उनले असहाय, वृद्धवृद्धा र अभिभावकविहीन बालबालिकाको अभिभावक समेत बने ।
नागरिकता विहीन वृद्धवृद्धालाई जीवनको उत्तरार्धमा लागिसक्दा पनि नागरिकता प्राप्त गर्न नसकेका तीनजना वृद्धवृद्धालाई नागरिकता प्रदान गराए, दुर्गम बस्तीहरुमा पुगेर खाद्यान्न वितरण, बिरामीहरुको उद्धार, आगलागीका कारण घरवारविहीन भएकाहरुको नयाँ घर निर्माण र विद्यालय भवन निर्माणमा श्रमदान समेत गरेर 'म जहाँ पुग्छु, त्यहाँ समाज परिवर्तनको रेखा कोर्छु' भन्ने अठोटलाई व्यवहारमा उतारेर देखाए ।
डा.केसीले भने, 'मैले सल्यानमा बाढी र पहिरोका कारण अवरुद्ध भएका पहाडी इलाकामा करिब ६८ किलोमिटर सडकखण्ड आफ्नो नेतृत्वमा प्रहरीहरुद्धारा पुननिर्माण गराए, विभिन्न स्थानमा करिब एक दर्जन पुल नभएका खोलामा स्थानीय समुदायसँग समन्वय गरी आवतजावतलाई सहज बनाउन काठे पुल बनाए, गरिबीका कारण चुहिएका छानामुनि बस्न बाध्य निमुखा वर्गका लागि नयाँ घर निर्माण गरिदिएर समाजमा प्रहरी संगठनको गरिमालाई फराकिलो बनाउने प्रयास मात्रै गरेको हुँ ।'
जसले प्रहरीको दायित्व मान्ने परम्परागत मान्यतालाई चिर्दै सल्यानमा सामाजिक रुपान्तरणको नयाँ अध्याय कोरे । प्रहरी सेवालाई समाजसेवा र मानवीय उद्धारसँग जोडेर नेपाल प्रहरीकै इतिहासमा नयाँ र प्रेरणादायी दृष्टान्त प्रस्तुत गरेका डीएसपी डा. केसी दाङमा सरुवा भएर आएपछि अब दाङबासीले कानून कार्यान्वयनसँगै सुशासन, पारदर्शी कार्यशैली र जनमुखी प्रहरी प्रशासनको उच्च अपेक्षा गरेका छन् ।
सल्यानमा हुँदा विभिन्न घातक रोगहरुबाट पीडित भई आर्थिक अभावका कारण उपचार गराउन नसकेका गरिब तथा विपन्न नागरिकहरुका लागि उनले विभिन्न संघ-संस्था र स्थानीय निकायसँग समन्वय गरेर उपचारको व्यवस्था मिलाए ।
कुनै कसूर गरेकालाई पक्राउ गर्नको लागि मात्रै प्रहरीको गाडी पुग्छ भन्ने बुझाईलाई चिर्दै डीएसपी केसीले समस्यामा परेकाहरूको घरमा प्रहरीको भ्यान लगेर कतिलाई अस्पताल पुर्याए, कतिलाई चामल बोकेर गए ।
भावी पुस्ताको भविष्य उज्ज्वल बनाउने उद्देश्यसहित उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरे । त्यस्तै, विभिन्न ठाउँका जीर्ण भएका पार्टी पौवा र मठ-मन्दिर निर्माण तथा मर्मत सम्भारमा पनि उनको नेतृत्वदायी भूमिका रह्यो । सबै सामाजिक कार्यहरुसँगै उनले आफ्नो मुख्य जिम्मेवारीलाई पनि उत्तिकै कुशलतापूर्वक निभाएर सुरक्षा संयन्त्रलाई चुस्त बनाउँदै त्यस क्षेत्रमा आपराधिक गतिविधिसमेत नियन्त्रणमा राखे ।
डा.केसीको दाङ बसाइ केवल एक नियमित प्रशासनिक सरुवा मात्र नभएर त्यस क्षेत्रको सुरक्षा व्यवस्थापन र सामाजिक रुपान्तरणको लागि एउटा नयाँ अवसरको रुपमा हेरिएको छ ।
सल्यानका जनतालाई रुवाएर बिदा हुँदा उनले पाएको आशीर्वाद र जनताको माया उनका लागि दाङको ऊर्जा बन्ने अपेक्षा र कानूनको कठोर कार्यान्वयनसँगै मानवीय संवेदनालाई कसरी सन्तुलनमा राख्छन्, त्यो भने हेर्न बाँकी नै छ ।