बोराभित्र मृत फेला परेकी रमाको आर्थिक विवादका कारण हत्या भएको पुष्टि, पण्डित पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
439
Shares
काठमाडौँ । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा फेला परेकी युवतीको वीभत्स हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दमक–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा (रमा) तिवारीको हत्या आरोपमा ३४ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरिएको जनाएको हो । पक्राउ परेका पण्डित भारतको बिहार राज्य, अररिया जिल्ला घर भई हाल दमक–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्दै आएका व्यक्ति हुन् ।
प्रहरीका अनुसार जेठ १६ गते रतुवा खोलाको पुलमुनि एउटा सेतो बोराभित्र शङ्कास्पद रूपमा प्याक गरिएको अवस्थामा रोमाको शव फेला परेको थियो । शवको सनाखत भएलगत्तै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय दमक तथा जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान टोलीले घटनास्थलको प्राविधिक परीक्षण, उपलब्ध सीसीटीभी फुटेजहरूको गहन अध्ययन तथा विभिन्न कोणबाट गरेको अनुसन्धानका क्रममा अभियुक्त राकेशकुमार पण्डितको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक रोमा र अभियुक्त राकेशकुमारबीच पहिलेदेखि नै चिनजान रहेको र उनीहरूबीच सम्बन्ध रहेको खुलेको छ । सोही सम्बन्धकै क्रममा उनीहरूबीच आर्थिक लेनदेनलाई लिएर लामो समयदेखि विवाद र झगडा हुँदै आएको थियो । प्रहरी हिरासतमा रहेका अभियुक्त पण्डितले प्रारम्भिक बयानका क्रममा आर्थिक लेनदेनकै विवादका कारण उब्जिएको झगडामा रिसको झोंकमा आफूले रोमाको हत्या गरेको स्वीकार गरिसकेका छन् ।
घटनालाई लुकाउन र प्रमाण नष्ट गर्न अभियुक्तले शवलाई बोरामा प्याक गरेर फालेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल र अभियुक्तको साथबाट घटनासँग सम्बन्धित महत्त्वपूर्ण प्रमाणहरू समेत बरामद गरेको छ । जसमा मृतकले लगाएको टिसर्ट, पाइन्ट, जुत्ता, मोबाइल फोन, भारतीय आधार कार्ड र एटीएम कार्ड रहेका छन् । यसका साथै शव ओसार्न र फाल्न प्रयोग गरिएको निलो रङको मोटरसाइकल, शव प्याक गर्न प्रयोग गरिएको बोरा र डोरी समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
झापा जिल्लाभरि निकै चर्चा र आक्रोश पैदा गरेको यस क्रूर हत्या प्रकरणमा मृतकका परिवारजनले निष्पक्ष छानबिन र दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन् । हाल प्रहरीले अभियुक्त पण्डितमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुर तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अभियुक्तमाथि हिरासतमा राखी थप कानुनी प्रक्रिया र अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।