महिलाको हत्या गरी सुन लुट्ने युवक पक्राउ, नक्कली गहना लगाएर अपराध लुकाउने प्रयास
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
315
Shares
पर्वत । पर्वतको फलेवास नगरपालिकामा महिलाको हत्या गरी सुनका गहना लुट्ने अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ।
प्रहरीले बागलुङको जैमिनी नगरपालिका-५ स्थायी घर भई फलेवास नगरपालिका-५ खानीगाउँ बस्दै आएका २८ वर्षीय कुशल पुरीलाई सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पुरीले फलेवास-५ खानीगाउँकी ५२ वर्षीया सन्तु नेपाली भनिने सोमकुमारी नेपालीको हत्या गरी सुनका गहना लुटेको स्वीकार गरेका छन्।
उनलाई मोदी गाउँपालिका-२ पातिचौरस्थित होटल प्रिन्सबाट पक्राउ गरिएको हो। हत्यामा प्रयोग भएको कोदालो मृतककै घरको फर्निचरमा लुकाइएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार घटना जेठ ७ गते रातिको हो। मृतकका छिमेकीसमेत रहेका पुरी राति करिब ९ बजे सन्तुको कोठामा पुगेका थिए। दुवैले राति ११ बजेसम्म सँगै बसेर रक्सी, मासु र चुरोट सेवन गरेका थिए। त्यसपछि उनी घर फर्किए पनि मध्यरातमा मृतकले लगाएका सुनका गहना लुट्ने उद्देश्यले पुनः करिब २ बजे सन्तुको कोठामा पुगेका थिए।
प्रहरीका अनुसार पुरीले घरबाटै आफ्नी श्रीमतीको नक्कली सुनको सिक्री र मुन्द्रा साथमा लगेका थिए। सन्तु निदाएको अवस्थामा कोदालोको पछाडिको भागले टाउकोमा प्रहार गरी हत्या गरेपछि उनले मृतकले लगाएका आठ ओटा सुनका मुन्द्रा र घाँटीको सिक्री लुटेका थिए। त्यसपछि अपराध लुकाउने उद्देश्यले मृतकलाई आफूले लगेको नक्कली सिक्री र १० ओटा नक्कली मुन्द्रा लगाइदिएका थिए।
घटनालाई अन्यत्र मोड्ने प्रयासस्वरूप अभियुक्तले कोठाभित्र रहेको एक लिटर मोबिल तेल भुइँ र ओछ्यानमा छरेका थिए। गन्धका कारण कोही सहजै भित्र प्रवेश गर्न नसकोस् भनेर ग्यास चुलोसमेत खुला छाडेको र अन्डाको क्यारेट बालेर कोठाभित्र धुवाँ फैलाएको अनुसन्धानबाट खुलेको छ। उनले कोठाको ढोका भित्रबाट चुकुल लगाई झ्यालबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ।
जेठ ८ गते बिहान करिब पौने ८ बजे सन्तु मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा प्रहरीले पुरीको साथबाट ८ ओटा सुनका मुन्द्रा बरामद गरेको छ। उनले लुटेका गहनामध्ये एउटा सिक्री र दुई ओटा मुन्द्रा कुश्मास्थित स्मृति गहना उद्योगमा बिक्री गरेको खुलेपछि उद्योगका सञ्चालक रमेशकुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। श्रेष्ठको पसलबाट ती गहनासहित एउटा सिक्री र दुई वटा मुन्द्रा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै अभियुक्तविरुद्ध पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्राविधिक टोली अनुसन्धानमा खटिएको थियो।
प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार आधुनिक तथा वैज्ञानिक अनुसन्धान विधिको प्रयोगबाट घटनाको रहस्य खुलाउन र अभियुक्तलाई पक्राउ गर्न सफलता मिलेको हो।