arrow

सम्हालियो दक्षिण कोरिया, रच्यो जितको गाथा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
south-korea-football-team.jpg

काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रलाई २-१ ले पराजित गरेको छ।

शुक्रबार भएको प्रतिस्पर्धामा एक गोलले पछि परेको अवस्थाबाट दक्षिण कोरियाले लगातार दुई गोल गर्दै महत्वपूर्ण जित निकालेको हो। चेक गणतन्त्रका लागि लाडिस्लाभ क्रेज्चीले ५९औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, दक्षिण कोरियाले ६७औँ मिनेटमा ह्वाङ इन-बोमको गोलबाट खेल बराबरीमा ल्यायो। त्यसपछि ८०औँ मिनेटमा ओह ह्योन-ग्युले विजयी गोल गर्दै टोलीलाई २-१ को जित दिलाए।

कोरियाले खेलमा आफ्नो पकड बनाएको भए पनि अप्रत्याशित गोल खाँदा भने केही समय अताल्लिएको थियो । तर आफ्नो लयलाई कायम गर्दै मात्र आठ मिनेटमै पहिलो गोल फर्काएको थियो ।

खेलको दोस्रो हाफमा चेक गणतन्त्रले अर्को गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएको थिएन। त्यसको फाइदा उठाउँदै दक्षिण कोरियाले पुनरागमन पूरा गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दक्षिण कोरियाले अधिकांश समय बलमाथि नियन्त्रण राख्दै लगातार आक्रमण बुनेको थियो।

दोस्रो हाफमा एक गोलले पछि परे पनि टोलीले धैर्यता कायम राख्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

खेलमा चेकका गोलकिपरले चार प्रहारलाई बचाएका थिए । यता कोरियाका गोलकिपरले पनि तीन प्रहार जोगाँएका थिए । 

कोरियाले एउटा काउन्टर प्रहार गर्दा चेकले त्यो अवसर पाएन । खेलमा कोरियाका एक खेलाडीले पहेँलो कार्ड खाए । फाउल भने चेकले बढी खेलेको थियो । चेकले १६ फाउल खेल्दा कोरियाले नौ फाउल खेलेको थियो । दुवैले दुई ओटा अफसाइड गरेका थिए । 

कोरियाले चार कर्नर हान्दा चेकले ५ ओटा अवसर पाएको थियो । समग्रमा खेलमा बलको नियन्त्रण कोरियाको ६२ प्रतिशत रहेको थियो भने चेकले ३८ प्रतिशतमात्र सम्हालेको थियो ।  

यस जितसँगै दक्षिण कोरियाले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ।

यसअघि गएराति भएको खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै विजयी शुरूआत गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ