सरकारका प्रवक्ता भन्छन्- अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
279
Shares
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा सञ्चारमाध्यम तथा संसद्मा उठेका सवालहरूमा सरकारको आधिकारिक धारणा स्पष्ट पारेका छन्।
मन्त्री पोखरेलका अनुसार अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको विस्तृत जवाफ सङ्घीय संसद् र संसदीय समिति दुवै ठाउँमा पुगेर दिइसकेका छन्। उनले अर्थमन्त्रीले दिएको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयलाई लिएर हाललाई थप कुनै छानबिन वा प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता नरहेको बताए। यद्यपि, भविष्यमा आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित कदम चाल्ने कुरामा उनले जोड दिए।
मन्त्री पोखरेलले भने, ‘अर्थमन्त्रीज्यूले सदन र समितिमा यसबारे प्रष्ट पारिसक्नुभएको छ। हाललाई योभन्दा बाहेक थप केही गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको छैन।’
विधेयक निर्माण र कानुन संशोधनका विषयमा बोल्दै मन्त्री पोखरेलले सम्बन्धित मन्त्रालयहरूबाट प्राप्त भएका विभिन्न प्रस्तावहरू अहिले मन्त्रिपरिषद्मा छलफलको चरणमा रहेको जानकारी दिए। ती प्रस्तावहरू मन्त्रिपरिषद् बैठकबाट विधिवत रूपमा पारित भएपछि मात्रै सञ्चारमाध्यमलाई थप विवरण दिइने उनले स्पष्ट पारे।
यसै गरी, हालै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सँग जोडिएर आएका अनियमितताका प्रसङ्गमा मन्त्री पोखरेलले त्यस्ता घटनाबारे हालसम्म मन्त्रालयमा कुनै पनि औपचारिक उजुरी वा जानकारी प्राप्त नभएको स्पष्ट पारे। यद्यपि, परीक्षा सञ्चालन र व्यवस्थापनमा कतैबाट कुनै कमजोरी वा अनियमितता भएको पुष्टि भएमा त्यसमा संलग्न जोसुकै अधिकारी वा व्यक्तिमाथि कडा छानबिन गरी कानुनी कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे।