arrow

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन स्थानीय र प्रदेश सरकारलाई गगन थापाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
gagn-thapa-29.jpg

काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई आगामी मनसुन र सम्भावित प्राकृतिक विपत्तिको जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी सभापति गगनकुमार थापाले यस्तो निर्देशन दिएका हुन्।

सभापति थापाले स्थानीय सरकारहरूले सम्पादन गर्नुपर्ने अनेकौँ मुख्य कार्यहरूमध्ये विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे। यसका लागि पार्टीले स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका र तत्काल गर्नुपर्ने कामहरूको स्पष्ट वर्गीकरणसहित विशेष मार्गनिर्देशन (गाइडलाइन) समेत प्रदान गरेको जानकारी दिए।

पार्टीको साङ्गठनिक सुदृढीकरण र देशव्यापी सदस्यता वितरण अभियानबारे चर्चा गर्दै सभापति थापाले नेपाली कांग्रेस केवल राजनीतिक दल मात्र नभएर मुलुककै सबैभन्दा ठुलो सामाजिक संस्थाका रूपमा रहेको दाबी गरे। पार्टीको यो विशाल र देशव्यापी सञ्जाललाई विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र नागरिक सचेतनाका लागि प्रत्यक्ष रूपमा मैदानमा परिचालन गर्ने लक्ष्य राखिएको उनले बताए।

सभापति थापाले भने, ‘नेपाली कांग्रेस पार्टीले हामी जहाँ–जहाँ सरकारमा छौँ, त्यहाँका सबै स्थानीय तथा प्रदेश सरकारलाई विपद् व्यवस्थापन लगायत स्थानीय सरकारले गर्नुपर्ने प्रमुख कामहरूबारे स्पष्ट रूपमा निर्देशन दिएका छौँ। हामी सरकारमा हुँदा मात्र होइन, सरकारबाहिर हुँदा पनि यस्ता सामाजिक र संवेदनशील विषयमा सधैँ सक्रिय रहन्छौँ। यसपटक पार्टीको सदस्यता सम्बन्धी कुरा गर्दा हालसम्म करिब साढे ६ लाखदेखि ७ लाखसम्म सदस्य दर्ता भइसक्नुभएको छ। सबै प्राविधिक प्रक्रिया पूरा हुँदा यो सङ्ख्या ८ देखि ९ लाखसम्म पुग्नेछ। यसरी हेर्दा नेपाली कांग्रेस नेपालको सबैभन्दा ठुलो सामाजिक सङ्गठन पनि हो। यदि हामीले ‘विपद् सम्बन्धी विषयमा सबैलाई सचेत बनाऔँ’ भन्ने अभियान सञ्चालन गर्‍यौँ भने, एकै पटक ८–९ लाख मानिसलाई सचेत र प्रशिक्षित बनाउन सक्छौँ।’

सानेपामा बसेको पार्टीको सदस्यता सम्बन्धी बैठकका क्रममा सभापति थापाले कांग्रेसको राजनीतिक शक्ति र जनशक्तिलाई पूर्ण रूपमा सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनको कार्यमा केन्द्रित गरिने दृढता व्यक्त गरे। मुलुकका हरेक कुनाका ८-९ लाख क्रियाशील सदस्यहरूलाई एकैसाथ विपद् व्यवस्थापन, पूर्वतयारी र उद्धारका कार्यमा सचेत र प्रशिक्षित बनाएर खटाउन सके देशका लागि यो एउटा ठुलो राष्ट्रिय योगदान र उदाहरणीय कार्य हुने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ