नेपालगञ्जमा भित्तेचित्र अभियान: शहरको सौन्दर्य र सांस्कृतिक पहिचानमा नयाँ रङ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
134
Shares
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले शहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन शुरू गरेको भित्तेचित्र अभियानले शहरको रूप बदलिँदै गएको छ ।
धुलो, मैलो र जथाभावी फोहरको चपेटामा परेका कङ्क्रिटका फुस्रा पर्खालमा भित्तेचित्रले शहरको सौन्दर्यमा एउटा नयाँ र उमङ्गमय रङ थपिदिएको छ । उपमहानगरपालिकाको यस पहललाई ‘क्रियटिभ आर्ट’ समूहका स्थानीय कलाकारहरूले आफ्नो सिर्जना र पसिनाले मूर्तरूप दिइरहेका छन् ।
कलाकारहरू गणेश श्रीष, सामथ्र्य थापा, तारा गुरुङ, टेकराज नेपाली, प्रेम विक र मायाराम रैदासलगायतको टोली हिजोआज हातमा ब्रस र रङका बट्टा बोकेर सहरका भित्ताहरूलाई सजाउन व्यस्त छन् । तिनै कलाकारहरूले कोरेका चित्रहरूमा यस क्षेत्रको विशिष्ट पहिचान, परम्परा, स्थानीय वेशभूषा, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधता प्रस्ट रूपमा झल्किएको देख्न सकिन्छ ।
“शहरका मुख्य सार्वजनिक पर्खाल तथा चोकहरूमा हामीले भित्तेचित्र कोरिरहेका छौँ”, कलाकार ताराबहादुर गुरुङले उत्साहका साथ भने, “यो केवल पेन्टिङ मात्र होइन, नेपालगन्जको इतिहास र वर्तमानलाई भित्तामा जीवन्त राख्ने प्रयास हो ।”
उपमहानगरपालिकाले शुरू गरेको भित्तेचित्र अभियान सहरको सौन्दर्य, कला र संस्कृतिको जगेर्ना सँगसँगै कलाकारको सम्मान भएको उनले बताए । यो अभियानबाट कलाकारले आफ्नो कला परिश्रम बेचेर आर्थिक आम्दानी गर्न सकेको उनको भनाइ छ ।
यो अभियान केबल शहर सजाउने रहर मात्र नभएर यस क्षेत्रको बृहत्तर विकाससँग जोडिएको योजना हो । खुला र अव्यवस्थित पर्खाललाई व्यवस्थित गर्दै सहरको सौन्दर्य अभिवृद्धि गर्ने र यहाँ आउने आन्तरिक पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने नगरको दीर्घकालीन लक्ष्य रहेको नगर प्रमुख प्रशान्त विष्टले बताए ।
“भित्तेचित्रमा यस क्षेत्रको कला र संस्कृति, विशिष्ट पहिचान, परम्परा र ऐतिहासिक सम्पदा झल्कने आकृतिहरू कोरिनेछन्”, नगर प्रमुख विष्ट भन्छन्, “भित्तेचित्र अभियानले नेपालगन्जलाई अझ आकर्षक, सुन्दर र पर्यटकीय रूपमा जीवन्त बनाउन ठूलो मद्दत पुर्याउनेछ ।”
शहरमा कलाको सुगन्ध फैलिरहँदा मेहनतले बनाइएका पेन्टिङलाई दीर्घकालसम्म जोगाउने चुनौतीसँगै उभिएको छ । सुन्दर चित्रमाथि जथाभावी फोहर फाल्ने, शौच गर्ने, गुट्खा थुक्ने र केरमेट गर्ने पुरानो सामाजिक कुसंस्कार र प्रवृत्ति अहिले पनि कायमै छ । कलाकारले दिनरात खटेर बनाएका यी कलाकृतिलाई विकृत हुनबाट जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको उनको भनाइ छ ।
शहरको सुन्दरता त्यहाँको पूर्वाधारले मात्र नभई त्यहाँ बस्ने नागरिकको चेतनाले निर्धारण गर्ने भएकाले नेपालगन्जलाई सुन्दर र सांस्कृतिक पहिचान बोकेको शहरका रूपमा स्थापित गर्न प्रत्येक नगरवासीले भित्तेचित्रलाई आफ्नै सम्पत्ति सम्झिएर अपनत्व ग्रहण गर्नुपर्ने उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए ।
जबसम्म नागरिकस्तरमा ‘यो मेरो शहर हो र यसलाई सफा राख्नु मेरो कर्तव्य हो’ भन्ने सचेतना आउँदैन, तबसम्म जतिसुकै राम्रा रङ भरे पनि शहरको रूप फेरिन नसक्ने भएकाले स्थानीय तह, कलाकार र आमनागरिकको साझा जिम्मेवारीले मात्रै यी भित्तामा कोरिएका सुन्दर सपनालाई लामो समयसम्म सुरक्षित र जीवन्त राख्न सकिने उनको भनाइ छ । रासस