सिंहदरबारको क्यान्टिनमा अखाद्य सामग्री, सञ्चालकलाई दुई लाख मात्रै जरिबाना
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
164
Shares
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा अखाद्य तथा उपभोगका लागि अयोग्य खाद्य सामग्री फेला परेपछि सञ्चालकलाई दुई लाख एक हजार रुपैयाँ जरिबाना गरेको छ।
विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलोग्राम घुन लागेको चनाको दाल, ११ किलोग्राम ओसिएको नेपाली बदाम र १४ ओटा फुटेको अण्डा फेला परेको जनाएको छ।
उपभोगका लागि अयोग्य ती खाद्य सामग्रीको मूल्य करिब छ हजार पाँच सय ६० रुपैयाँ रहेको र अनुगमनकै क्रममा नष्ट गरिएको विभागले जनाएको छ।
सिंहदरबारको उक्त केन्द्रीय क्यान्टिन जी एण्ड बी क्याफे ग्रुपले सञ्चालन गर्दै आएको छ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने खाद्य सामग्री भण्डारण तथा बिक्रीका लागि राखिएको पाइएपछि विभागले उपभोक्ता संरक्षणसम्बन्धी कानूनी व्यवस्थाअनुसार दुई लाख एक हजार रुपैयाँ जरिबाना गरेको जनाएको छ।
विभागले खाद्य व्यवसायीलाई गुणस्तरीय र सुरक्षित खाद्य सामग्री बिक्री-वितरण गर्न तथा खाद्य स्वच्छताका मापदण्ड पालना गर्न आग्रह गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।