arrow

विश्वकपमा ब्रजिल र मोरक्को भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
brazil-practice-26-6-13.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार बिहान प्रतियोगिताको सबैभन्दा सफल टोली ब्रजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ ।

गत संस्करण कतार विश्वकपमा ब्रजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसियाविरुद्ध शतब्ध बन्यो । त्यसको चार वर्षअघि रसियामा पनि ब्रजिल अन्तिम आठमै रोकिएको थियो । यसपाली ब्रजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ ।

उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करण गरेको ऐतिहासिक प्रदर्शन दाहोर्याउने चुनौती छ । कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

गत वर्ष ब्रजिलियन फुटबलको इतिहास फेरिएको थियो । जतिबेला महासंघले इटालियन कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

तीन दशकको आफ्नो व्यावसायिक प्रशिक्षण करिअरमा ६७ वर्षीय एन्सिलोटीले भएजति सबै उपाधि जितेका छन् । अहिले उनी आफ्नो प्रशिक्षण करिअरलाई पूर्णता दिन ब्रजिल आएका छन् ।

विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको ब्रजिलले ११४ मध्ये ७४ खेलमा विजयी हासिल गरेको छ । यसबीच ब्रजिलले पाँचपटक प्रतिष्ठित ट्रफी चुम्यो । यद्यपि २४ वर्ष भइसक्यो, ब्रजिलले विश्वकपको उपाधि जित्न सकेको छैन् ।

ब्रजिलले यसअघि पनि २४ वर्षको पखाईपछि आफ्नो चौथो विश्वकप उपाधि उचालेको थियो । सन् १९७० मा ब्रजिलले आफ्नो तेस्रो उपाधि चुमेको थियो । त्यसपछि चौथोपटक च्याम्पियन हुन ब्रजिलले १९९४ सम्म कुर्नुपर्यो । त्यो पनि अमेरिकाको माटोमा । यसपाली त्यही संयोग जुरेको छ ।

विश्वकप इतिहासमा ब्रजिलले आठमध्ये सातपटक अफ्रिकन राष्ट्रलाई हराएको छ । ब्रजिलले एक मात्र हार गत संस्करण क्यामरुनसँग बोहोरेको हो । क्यामरुनले समूह चरण्मा ब्रजिललाई १–० ले हराएको थियो । मोरक्को ब्रजिललाई हराउने दोस्रो अफ्रिकन राष्ट्र बन्न चाहन्छ ।

चार वर्षअघि मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो ।

सातौं विश्वकप अनुभव लिइरहेको मोरक्कोलाई यसपाली प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’का रुपमा हेरिएको छ । मोरक्कोले आफ्नो सुरुआती तीन सहभागिता उत्तर अमेरिकामै जनाएको थियो ।

मेक्सिको (१९७० र १९८६) अनि अमेरिका १९९४ मा मोरक्कोले प्रतिनिधित्व गरेको थियो । मेडन अनुभवमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले १९८६ मा अन्तिम १६ सम्मको यात्रा गरेको थियो । 

अमेरिका १९९४ मोरक्कोका लागि विर्सनलायक रह्यो । टोलीले समूहका तीनवटै खेलमा एक गोलको अन्तरले पराजय बेहोर्यो ।

एट्लास लायन्सले पछिल्ला वर्षहरुमा आफूलाई शक्तिशाली फुटबल राष्ट्रका रुपमा उभ्याएको छ । सन् २०२३ यता मोरक्कोले ४५ खेलमा ३३ जित हासिल गर्दा १० बराबरी र दुईमा हार आत्मसात गरेको छ । अहिले त मोरक्को फिफा वरीयताको सातौं स्थानमा छ । नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीभन्दा पनि अगाडि ।

ब्रजिलसँगको पछिल्लो तीन भेटमध्ये एकमा मोरक्कोले जित हासिल गरेको छ । २०२३ मा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्रजिल २–१ ले स्तब्ध भएको थियो ।

ब्रजिलका उच्च गोलकर्ता नेइमार अझै पनि ‘काल्फ इन्जुरी’को समस्यासँग जुधिरहेका छन् । उनी आइतबारको खेलमा उपस्थित नहुने सम्भावना बलियो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ