काठमाडौँ । सिरहाको सुखीपुर बजारबाट २१ किलो जङ्गली गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो।
सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजार क्षेत्रमा लागूऔषध नियन्त्रण ब्युरोबाट परिचालन भएको विशेष प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
मोटरसाइकलमा सवार मगरमाथि शङ्का लागेर प्रहरी टोलीले रोकेर खानतलासी गर्दा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको हो।
पक्राउ परेका मगरमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।