अष्ट्रेलियाको सशक्त प्रदर्शन: टर्किएमाथि २-० को जित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
180
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २-० ले पराजित गर्दै सशक्त, योजनाबद्ध र प्रभावकारी प्रदर्शन गरेको छ।
खेलको शुरूआतदेखि नै अष्ट्रेलियाले प्रतिआक्रमणमा आधारित रणनीति अपनाएको देखियो । जसको प्रतिफलस्वरूप नेस्टोरी इरानकुन्डाले पहिलो हाफमै काउन्टर-अट्याकमार्फत उत्कृष्ट फिनिस गर्दै अग्रता दिलाए। पहिलो गोलपछि अष्ट्रेलियाले खेलको गति नियन्त्रणमा राख्दै टर्किएलाई बलमा दबाब दिने अवसर सीमित बनायो।
दोस्रो हाफमा टर्किएले अपेक्षाअनुसार आक्रामकता बढाउँदै लगातार दबाब सिर्जना गर्यो। निर्णायक क्षणहरूमा फिनिसिङको कमजोरी र अष्ट्रेलियाको अनुशासित रक्षापंक्तिले उनीहरूको प्रयासलाई निरर्थक बनायो।
७५औँ मिनेटमा कोनर मेटकाफको बक्स बाहिरबाट गरिएको शक्तिशाली प्रहारले टर्किएको पुनरागमनको सम्भावना लगभग अन्त्य गरिदियो।
अतिरिक्त समयको ९०+६ मिनेटसम्म पनि टर्किएले बायलाइन र क्रसमार्फत खतरा सिर्जना गरे पनि ह्यारि साउटरको निर्णायक ब्लक र गोलकिपरको संयमित प्रदर्शनले उनीहरूलाई गोलविहीन बनायो।
एकातिर अष्ट्रेलियाको जित केवल गोलमा सीमित नभई “ट्याक्टिकल डिसिप्लिन” को उत्कृष्ट उदाहरण हो, जहाँ सीमित अवसरलाई गोलमा परिणत गर्ने क्षमता र रक्षात्मक एकता निर्णायक बन्यो।
अर्कोतर्फ टर्किएलाई भने लामो समयदेखि रहँदै आएको “डार्क हर्स” छविबाट बाहिर निस्कन नसकेको भन्दै आलोचनात्मक मूल्याङ्कन भइरहेको छ, किनकि उनीहरूले अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोरी दोहोर्याए ।
यसअघि समूह ‘डी’ मा अमेरिका र पाराग्वेबीचको खेलमा ४-१ को नतिजा आएको पृष्ठभूमिमा यो जितले अष्ट्रेलिया र अमेरिकालाई समान ३-३ अंकसहित समूहको शीर्ष स्थानमा पुर्याएको छ, जसले समूह ‘डी’ लाई अझ प्रतिस्पर्धात्मक बनाएको छ।
योसँगै अष्ट्रेलियाले २-० को जित जित हात पार्दै आफ्नो अभियान आत्मविश्वासका साथ शुरू गर्दा टर्किएका लागि यो खेल अवसर गुमाउने र कमजोरी उजागर गर्ने निराशाजनक समय बनेको छ।
जितसँगै समूह डीमा अष्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । पाराग्वेमाथि अझ शानदार जित हासिल गरेको आयोजक अमेरिका शीर्ष स्थानमा छ ।