भारी र वस्तुभाउ बोकेर चार महिनाका लागि लेकको यात्रा
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
431
Shares
काठमाडौँ । काँधमा खाद्यान्न र लत्ताकपडाको भारी, साथमा सयौँको सङ्ख्यामा भेडाका बथान तथा गाईभैँसीको हुल, अनि पसिनाले निथ्रुक भिजेको शरीर। यतिबेला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडक खण्डमा यस्तै दृश्यहरू जताततै देखिन थालेका छन्। बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसानहरू आफ्ना वस्तुभाउ र बन्दोबस्तीका सामानसहित लेकका खर्क र अग्ला बुकीपाटनतर्फ उक्लिन थालेका हुन्।
गत असोजमा चिसो छल्न बेँसी (गाउँ) झरेका गोठालाहरू आठ महिनापछि पुनः लेकको यात्रामा निस्किएका हुन्। एउटै परिवारले दर्जनौँको सङ्ख्यामा पशुचौपाया पाल्ने भएकाले बेँसीमा मात्रै घाँस पुर्याउन नसकिने हुँदा उनीहरू हिउँद र बर्खाको समयमा लेक-बेँसी गरेर परम्परागत रूपमा पशुपालन गर्दै आएका छन्। जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला र गलकोट लगायतका स्थानबाट गोठालाहरू आफ्ना वस्तुभाउ लिएर समुद्री सतहदेखि ३ हजारदेखि ४ हजार ८०० मिटरको उचाइसम्मका चरन क्षेत्रहरूमा पुग्ने गर्छन्।
कतिपय गोठालाहरू जेठको दोस्रो साता नै बुकीपाटन उक्लिसकेका छन् भने धेरैजसो यतिबेला खाद्यान्नको जोहो गरेर हिँडेका छन्। अबको चार महिना अर्थात् आगामी असोजसम्म उनीहरू लेकमै सङ्घर्षपूर्ण जीवन बिताउनेछन्। लेकमा टेलिफोन र विद्युत्को कुनै सुविधा नहुने भएकाले यो अवधिमा उनीहरूको परिवारसँग कुनै फोन सम्पर्क समेत हुँदैन। असारदेखि असोजको बिचमा कोही बिरामी परेमा, बन्दोबस्तीको खर्च सकिएमा वा अन्य कुनै आकस्मिक घटना भएमा मात्रै उनीहरू बेँसी झर्ने गर्छन्।
गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला र ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा तथा स्यार्चुङ जस्ता अग्ला पहाडी क्षेत्रमा पुग्छन्। बेँसीका बारीमा खेतीपाती र बालीनाली लगाउने काम भ्याएर आफू लेक उक्लन थालेको निसीखोला गाउँपालिका–५ का किसान किरबहादुर घर्ती मगर बताउँछन्। अब दसैँ मनाउनका लागि मात्रै गाउँ झर्ने उनको योजना छ।
घर्ती मगर भन्छन्, “यतिका सम्पत्ति (वस्तुभाउ) एकै ठाउँमा राखेर पाल्न सकिँदैन। बेँसीमा गर्मी हुन्छ, लेकमा यतिबेला शीतल छ र घाँस पनि पलाइसकेको हुँदा चरनका लागि सजिलो हुन्छ। एक-डेढ महिना एक ठाउँ बस्छौँ, त्यसपछि फेरि अर्को खर्कमा सर्नुपर्छ।” लेकमा बस्दा किसानहरूले केवल पशुपालन मात्र गर्दैनन्, उनीहरूले काठका परम्परागत भाँडाकुँडा र चोयाका सामग्रीहरू समेत बुन्ने गर्छन् र बेँसी झरेपछि ती सामग्री बिक्री गरेर आम्दानी गर्छन्।
तमानखोला गाउँपालिका–५ का किसान शेरबहादुर सिर्पालीले घरमा श्रीमती बिरामी परेको र बाली लगाउन ढिला भएकाले यसपालि लेकको यात्रा एक साता ढिलो भएको बताए। उनी पनि अबको दुई दिनमा बुकीपाटन पुग्दैछन्। ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्र नभएर छिमेकी जिल्लाहरू रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानहरू समेत आफ्ना भेडाका बथान लिएर चरनका लागि आउने गर्छन्।
ढोरपाटन नगरपालिका–६ का पुनराम अदै जेठ २३ गते नै बुकीपाटन पुगिसकेका छन्। लेकमा घाँस राम्रोसँग पलाइसकेकाले अबको एक साताभित्र बेँसीमा रहेका सबै गोठालाहरू उक्लिसक्ने र बुकीपाटन भरिभराउ हुने उनी बताउँछन्। विगत ३-४ दशकदेखि यही पेसामा रमाइरहेका अदै भन्छन्, “पढाइलेखाइ पनि भएन, देश-विदेश पनि गइएन। यही वस्तुभाउ हेर्ने र ज्यान पाल्नेबाहेक अरू केही गर्न सकिएन। बर्खाभरि लेकमै बस्छौँ, अब असोज लागेपछि मात्रै बेँसी झर्ने हो।”