arrow

मानसरोवर-कैलास जाने तीर्थयात्रीको रसुवागढी नाकामा घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
kailash_man_sarowar.jpg

काठमाडौँ । पवित्र धार्मिक स्थल मानसरोवर–कैलासको दर्शनका लागि जान लागेका तीर्थयात्रीहरूको नेपाल–चीन सीमावर्ती रसुवागढी नाकामा उल्लेखनीय भीडभाड हुन थालेको छ। मानसरोवर–कैलास यात्राका लागि यो नाका तुलनात्मक रूपमा छोटो, सहज र सुविधाजनक मानिने भएकाले नेपाली तथा विदेशी पर्यटक एवं यात्रुहरूको चाप ह्वात्तै बढेको हो।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्ममा यस नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन्। चीन प्रवेश गर्ने यी यात्रुहरूमध्ये अधिकांशको मुख्य गन्तव्य मानसरोवर कैलास नै रहेको छ। यसरी प्रस्थान गर्नेहरूमा नेपाल र भारतका नागरिकसहित अमेरिका, रुस, अष्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य (युके), मलेसिया तथा जर्मनीका नागरिकहरू रहेका छन्।

कार्यालयको तथ्याङ्क अनुसार गत मार्च महिनासम्म यस नाकाबाट ८१२ जना यात्रु मात्र चीनतर्फ गएका थिए भने अप्रिल १४ सम्म आइपुग्दा यो सङ्ख्या ह्वात्तै बढेर १४ हजार २४० पुगेको थियो। अप्रिलदेखि जुनको मध्यसम्म आइपुग्दा यो सङ्ख्या १७ हजार २४१ पुगेको अध्यागमन कार्यालयले जनाएको छ।

काठमाडौँबाट सडक मार्ग हुँदै बसमार्फत करिब १० घण्टामा रसुवागढी पुग्न सकिन्छ। तर, यात्रालाई अझ सहज र छोटो बनाउन कतिपय तीर्थयात्रीले हवाई मार्ग रोज्ने गरेका छन्। टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङका अनुसार काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टेखोला क्षेत्रसम्म मानसरोवर कैलासका केही यात्रुहरूले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेका छन्। हेलिकोप्टरमार्फत काठमाडौँबाट करिब आधा घण्टामै रसुवागढी पुग्न सकिने भएकाले खर्चिलो भए पनि धेरै यात्रुहरूले यस मार्गलाई प्राथमिकता दिन थालेका हुन्।

नाकामा यात्रुको चाप निकै बढे पनि अध्यागमन कार्यालयमा भने सेवा प्रवाहमा थप चुनौती देखिएको छ। चिनियाँ प्रवेषाज्ञा (भिसा) अनुमति अभिलेख तथा दर्ता कार्यका लागि आवश्यक कर्मचारी नहुँदा यात्रुहरू लामो समयसम्म लाइनमा बस्न बाध्य छन्। हाल कार्यालयमा मात्र दुईवटा डेस्कबाट सेवा प्रवाह भइरहेकाले यो समस्या आएको यात्रुहरूको गुनासो छ।

कार्यालय प्रमुख भण्डारीले हाल भाडाको घरबाट सेवा सञ्चालन भइरहेकाले भौतिक संरचनाका कारण सेवा विस्तार गर्न कठिन रहेको स्वीकार गरे। यद्यपि, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार तथा सीमा व्यवस्थापन भवनको काम सम्पन्न भएपछि सेवा थप व्यवस्थित, अत्याधुनिक र प्रभावकारी हुने उनले जानकारी दिए।

यसैबिच, अध्यागमन कार्यालय नजिकै यात्रुहरू भिसा दर्ताका लागि लाइनमा बस्ने स्थानको सडक किनारमा चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन (ईभी) लामो समयसम्म पार्किङ गरेर राख्ने गरिएको छ। यसले गर्दा यात्रु र सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको भन्दै स्थानीय बासिन्दाले सडक किनारको पार्किङ तत्काल हटाउन ट्राफिक प्रहरीसँग जोडदार माग गरेका छन्।

मानसरोवर–कैलासमा हिन्दू र बौद्धलगायत विभिन्न धर्मावलम्बीहरू उत्तिकै श्रद्धाका साथ पुग्ने गर्छन्। यात्रुको सङ्ख्यामा भएको यस वृद्धिले अध्यागमनको राजस्वमा पनि राम्रो योगदान पुर्‍याएको छ। जनवरीदेखि जुन १४ सम्म भिसा दर्ता तथा सम्बन्धित सेवा शुल्कबापत ६२ लाख ८० हजार ४२० रुपैयाँ ८६ पैसा राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भण्डारीले बताए।

तीर्थयात्रीको लर्को बढेसँगै रसुवाको स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रका होटल, यातायात, रेस्टुरेन्ट तथा अन्य व्यापार–व्यवसायसमेत निकै चलायमान बनेको भन्दै स्थानीय व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ