सामाजिक विकृति अन्त्य गर्न सबैको सहकार्य आवश्यक: आईजीपी कार्की
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
186
Shares
भैरहवा। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी शान्त, समृद्ध र भाइचारापूर्ण समाज निर्माणका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’लाई सम्बोधन गर्दै उनले सामाजिक शान्ति, सुव्यवस्था र समृद्धिका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको बताए।
प्रहरी महानिरीक्षक कार्कीले लुम्बिनीबाट प्रवाहित शान्तिको सन्देश देशभर फैलिनुपर्नेमा जोड दिँदै लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह र लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति मुलुकका गम्भीर चुनौती बनेको उल्लेख गरे।
यी समस्याको समाधान प्रहरीको एकल प्रयासबाट सम्भव नहुने भन्दै उनले परिवार, समुदाय, शैक्षिक संस्था, स्थानीय तह र सरोकारवाला सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्कीले नेपाल प्रहरीले परम्परागत सुरक्षा व्यवस्थासँगै आधुनिक प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
उनले अपराध नियन्त्रणसँगै जनचेतना अभिवृद्धि र सामाजिक रूपान्तरणका अभियानलाई पनि प्रहरीले निरन्तर अघि बढाइरहेको बताए।
प्रहरी र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सामाजिक विकृति नियन्त्रण र शान्तिपूर्ण समाज निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेकोमा उनले जोड दिए।