अपी हिमालको फेदीमा क्रिकेटको गुञ्जन: सामाजिक सञ्जालदेखि पर्यटनसम्म नयाँ सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
173
Shares
दार्चुला । सुदूरपश्चिमको सबैभन्दा उचाइको सात हजार १३२ मिटर अग्लो अपी हिमाल वरिपरि सेताम्मे हिमशृङ्खला, तल हरियो घाँसेमैदान, भेडाबाख्राको बथान र यार्सागुम्बा सङ्कलन गर्न पुगेका युवाहरूको चहलपहल देखिन्छ ।
यही अपी हिमालको काखमा रहेको अपी बेसक्याम्प, जसलाई स्थानीय भाषामा ‘पिलकन्द पैदान’ भनिन्छ, अहिले क्रिकेट खेलिने मैदानका कारण नयाँ परिचय बनाइरहेको छ । त्यही हिमाली मैदानमा गुन्जिने ब्याट र बलको आवाज अहिले दार्चुलाको अपी हिमाललाई सामाजिक सञ्जालदेखि पर्यटन चर्चासम्म पुर्याउने माध्यम बनेको छ ।
गत शनिबार अपी बेसक्याम्पमा युवाहरू क्रिकेट खेलिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै देशभर व्यापक चर्चा भएको छ। दार्चुलाका फोटोग्राफर हिमालय भट्टले खिचेको उक्त भिडियोमा हिमाली मैदानमा क्रिकेट खेलिरहेका युवाहरू देखिन्छन् । प्रधानमन्त्री वालेन्द्र साहले उक्त भिडियो आफ्नै शैलीमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि अपी हिमालको चर्चा झनै बढेको हो । यससँगै अपी बेसक्याम्पमा क्रिकेट र पर्यटनको सम्भावना एकैपटक उजागर भएको छ ।
फोटोग्राफर भट्टका अनुसार भिडियो जेठ १२ गते खिचिएको हो । उनले सामाजिक सञ्जालमा राखेपछि राम्रो प्रतिक्रिया आएको र पछि प्रधानमन्त्री कार्यालयले समेत भिडियो माग गरेको बताए । उनका अनुसार अपी हिमालमा क्रिकेट खेलको चर्चा नयाँ होइन, यसको इतिहास दुई दशक पुरानो हो ।
अपी हिमालमा क्रिकेटको सुरुवात करिब २०५९ सालतिर भएको हो । त्यतिबेला गाउँका केही विद्यार्थी भारतको पिथौरागढमा अध्ययन गर्थे र त्यहाँ क्रिकेटसँग परिचित भएका थिए । गाउँ फर्किएपछि उनीहरूले खात्तीस्थित सम्तेली चौड मैदानमा क्रिकेट खेल्न थाले । सुरुमा ब्याट र बल नहुँदा कपडाको बल र काठको ब्याट प्रयोग गरेर खेलिने गरिएको थियो ।
सुरुआती पुस्ताका झलकसिंह धामी, दमनसिंह रोकाया, दीपक लोथ्याल, मदन कार्कीलगायत युवाहरूले क्रिकेटको विकासमा योगदान दिएका थिए । उनीहरूका अनुसार भारतमा सिकेको खेल गाउँमा ल्याएपछि क्रमशः स्थानीय प्रतियोगिता र क्लब गठन हुँदै क्रिकेट विस्तार भएको हो । ‘समाज सुधार समाज युवा क्लब’ मार्फत दशैंतिहारमा प्रतियोगिता आयोजना गर्ने परम्परा बस्यो ।
पूर्व खेलाडीहरूका अनुसार अम्पायरिङदेखि नियमसम्म सिकाइ किताब र अभ्यासमार्फत गरिन्थ्यो । तर पछिल्लो समय सरकारी लगानी र पूर्वाधार अभावका कारण क्रिकेटको विकास सुस्त भएको उनीहरूको गुनासो छ । पूर्व क्रिकेटर खडकसिंह लोथ्यालका अनुसार स्थानीय सरकार आएपछि खेल पूर्वाधारमा ध्यान गए पनि खेलाडी उत्पादनमा निरन्तरता नभएको देखिन्छ ।
क्रिकेट विस्तार हुँदै यार्सागुम्बा सङ्कलन गर्ने अपी बेसक्याम्पसम्म पुगेको छ । यार्सागुम्बा सङ्कलनका क्रममा युवाहरू त्यहाँ पुगेर फुर्सदमा क्रिकेट, भलिबल खेल्ने गर्छन् । पिलकन्द मैदान अहिले पशुचौपाया चरिचरन क्षेत्रसँगै खेल मैदानका रूपमा पनि प्रयोग हुँदै आएको छ ।
पूर्व खेलाडी दीपक लोथ्यालका अनुसार २०६२ सालतिर अपी बेसक्याम्पमै पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । अहिले सामाजिक सञ्जालमार्फत अपी हिमालको दृश्य विश्वभर फैलिनु गर्वको विषय भएको उनले बताए । उनका अनुसार यो क्षेत्रलाई साहसिक पर्यटनको केन्द्र बनाउन सकिने ठूलो सम्भावना छ ।
अपी हिमाल गाउँपालिकाले क्रिकेटलाई खेल मात्र नभई पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास गर्न थालेको छ। गाउँपालिकाले स्वास्थ्य, कृषि, शिक्षा र खेल पर्यटनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाएको छ। गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार सम्तेली चौडमा सात करोड रुपैयाँ लागतमा ‘हाई अल्टिच्युड एड्भेन्चर क्रिकेट रङ्गशाला’ निर्माण भइरहेको छ ।
समुद्र सतहदेखि २४५० मिटर उचाइमा निर्माणाधीन उक्त रंगशालाले उच्च हिमाली क्षेत्रमा साहसिक खेल पर्यटन विकास गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले भविष्यमा अपी बेसक्याम्पमै राष्ट्रियस्तरका क्रिकेट, भलिबल, फुटबल तथा अल्ट्रा म्याराथन आयोजना गर्ने योजना बनाएको छ ।
अहिले अपी बेसक्याम्पमा वार्षिक करिब पाँच हजार पर्यटक पुग्ने गरेका छन् । पर्यटन पूर्वाधार विस्तार भएमा यो संख्या दस हजारसम्म पुर्याउने लक्ष्य गाउँपालिकाले राखेको छ । यस क्षेत्रलाई सुदूरपश्चिमकै प्रमुख साहसिक गन्तव्य बनाउने प्रयास भइरहेको छ ।
अपी हिमाल क्षेत्र जैविक विविधता, हिमाली सौन्दर्य र पर्यावरणीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । अपी-नाम्पा संरक्षण क्षेत्रमा २५ प्रजातिका स्तनधारी जनावर, २४३ प्रजातिका चरा र ७५ प्रकारका जडीबुटी पाइने उल्लेख छ । तर बढ्दो मानवीय गतिविधि, जथाभावी दोहन, डढेलो र अव्यवस्थित पर्यटनले यसको संवेदनशीलतामा चुनौती थपिएको छ ।
सरकारले सुदूरपश्चिमका हिमाली क्षेत्रमा पदमार्ग र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । साथै, अपी-साइपाल पदयात्रा मार्ग विकासका लागि अध्ययन र योजना अघि बढाइएको छ । हाल दुई वर्षसम्म सलामी दस्तुर नलाग्ने सरकारी निर्णयले समेत पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको अपेक्षा गरिएको छ ।
मकरीगाडदेखि खण्डेश्वरी हुँदै अपी बेसक्याम्प पुग्ने पदमार्ग, होमस्टे र सूचना केन्द्रजस्ता संरचनाले पर्यटकलाई सहज बनाइरहेका छन् । पिलकन्द मैदानदेखि कालीढुङ्गा तालसम्मको सुन्दर यात्रा अपी क्षेत्रको प्रमुख आकर्षण बनेको छ ।
क्रिकेट, संस्कृति र पर्यटनको संगम बन्दै अपी हिमाल अहिले केवल हिमाल मात्र होइन, सम्भावनाको नयाँ केन्द्रका रूपमा उदाउँदै गएको छ ।रासस