ताराकुमारीले फलाइन् हिमाली भेगमा अङ्गुर, सफल हुँदैन भन्नेहरू चकित
सडक स्तरोन्नति नहुँदा बजारसम्म पुर्याउन कठिन
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
340
Shares
म्याग्दी । ‘धान फल्ने खेतमा सुन्तला र अङ्गुर लगाएर के हुन्छ ?’ भन्ने प्रश्न र आलोचनालाई चुनौती दिँदै पर्वतको जलजला गाउँपालिका-८ लुप्राङकी ताराकुमारी रेग्मीले उच्च पहाडी क्षेत्रमा अङ्गुरखेतीको सफल परीक्षण गरेकी छन्।
अहिले उनको बगैँचाले राम्रो उत्पादन दिन थालेको छ भने वार्षिक लाखौं रुपैयाँ आम्दानीको स्रोत बनेको छ। समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा रहेको लुप्राङस्थित श्रीहरी कृषि तथा पशुपन्छी फार्ममा चार वर्षअघि भारतबाट ल्याइएका अङ्गुरका बिरुवाले उत्पादन दिन थालेका हुन्।
प्लास्टिक टनेलभित्र लगाइएका दुई ओटा बोटबाटै गत वर्ष ३५ हजार रुपैयाँ बराबरको अङ्गुर बिक्री भएको ताराकुमारी बताउँछिन्।
“प्रतिकिलो चार सय ५० देखि पाँच सय रुपैयाँमा घरबाटै बिक्री भयो,” उनले भनिन्, “यस वर्ष दाना धेरै लागेकाले उत्पादन अझ बढ्ने अपेक्षा छ।”
अङ्गुर सफल भएपछि यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना बनाएकी रेग्मीले कृषि प्राविधिकसँगको परामर्शमा खेती विस्तार गर्ने तयारी गरेकी छन्।
दुई छोरालाई पढाउन पाँच वर्ष बागलुङ बजारमा बसेकी उनी छोराहरू उच्च शिक्षाका लागि काठमाडौं गएपछि गाउँ फर्किइन्। त्यसपछि परम्परागत खेतीलाई परिवर्तन गर्दै सुन्तला, कागती, अङ्गुर, गोलभेडा र तरकारी खेतीसँगै बाख्रापालनलाई व्यावसायिक रूपमा अघि बढाइन्।
धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा आफन्त र छिमेकीले असफल हुने भन्दै निरुत्साहित गरेको उनी सम्झन्छिन्। तर अहिले उनको बगैँचामा सात सय ५० भन्दा बढी सुन्तला र कागतीका बोट छन्। गत वर्ष मात्र उनले सुन्तला बिक्रीबाट चार लाख ८० हजार रुपैयाँ आम्दानी गरेकी थिइन्।
अहिले उनको फार्मबाट वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म बचत हुने गरेको छ। उनको सफलताले प्रेरित भएर लुप्राङका धेरै किसानले पनि धान, मकै र कोदोको सट्टा सुन्तला तथा नगदे बाली खेती गर्न थालेका छन्।
रेग्मीलाई विभिन्न सरकारी कार्यक्रममार्फत प्राविधिक सहयोग, तालिम, पूर्वाधार निर्माण र उद्यमशीलता विकासमा सहयोग प्राप्त भएको छ। तर खेती विस्तारमा सडक र वन्यजन्तुको समस्या भने चुनौतीका रूपमा रहेको छ।
नाग्लिवाङ-लुप्राङ सडक स्तरोन्नति नहुँदा उत्पादन बजारसम्म पुर्याउन कठिन हुने गरेको उनको गुनासो छ। बाँदरको आतंक र हालै परेको असिनाले पनि बालीमा क्षति पुर्याएको छ।
ताराकुमारी रेग्मीको कथा पहाडी कृषिको बदलिँदो स्वरूपको उदाहरण बनेको छ। आलोचनालाई अवसरमा बदल्दै उनले परम्परागत खेतीको विकल्प खोजेकी मात्र छैनन्, गाउँमै बसेर मेहनत, सीप र नयाँ सोचका माध्यमबाट आत्मनिर्भर बन्न सकिने सन्देश पनि दिएकी छन्।