जङ्गली हात्ती नियन्त्रणका लागि झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
299
Shares
काठमाडौँ । जङ्गली हात्तीको आतङ्कबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न झापा जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको विशेष निर्देशनमा यो फोर्स गठनको प्रक्रिया अगाडि बढेको हो। झापा निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीका अनुसार प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढाउन बुधबार नै निर्देशन दिइसकेको छ। अब प्रमुख जिल्ला अधिकारीले यस टास्क फोर्स परिचालनका लागि आवश्यक समन्वय र नेतृत्व गर्नेछन्।
गत हप्ता झापाको मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै घरको आँगनमा हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। उक्त दुःखद घटनापश्चात् स्थानीयवासीले जिउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन्। सोही विषयलाई लिएर सांसद निशा डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको सुरक्षा गर्न संसद्मा समेत ठोस कदम चाल्न सरकारसँग माग गरेका थिए।
यस विशेष टोलीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई एकीकृत रूपमा सामेल गरिने कार्ययोजना बनेको छ। वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले सिधै सुरक्षाकर्मी परिचालन गर्ने कानुनी प्रक्रिया सहज नभए पनि प्रधानमन्त्री कार्यालयको अग्रसरतामा यो संयन्त्र तयार पारिएको हो। यसमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सङ्घीय सरकार मातहत रहेका छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारको मातहतमा रहन्छन्। यस फोर्सलाई मुख्य गरी हात्तीको मुख्य प्रवेशगौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइनेछ, जहाँ अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बङ्गालबाट एकैपटकमा ३० देखि १०० वटासम्मका जङ्गली हात्तीको बथान नेपाल प्रवेश गर्ने गर्दछ।
टास्क फोर्समा कति सुरक्षाकर्मी परिचालन हुने भन्ने अन्तिम सङ्ख्या अझै यकिन भइसकेको छैन। सांसद डाँगीका अनुसार प्रारम्भिक चरणमा ५० जना सुरक्षाकर्मी माग गरिएको छ। हात्ती नियन्त्रणका लागि अनुभवी र विशेष तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले सुरुमा कम्तीमा १० जनाको सङ्ख्यामा भए पनि टोली खटाउन उपयुक्त हुने सुझावहरू आइरहेका छन्।
सरकारको यस निर्णयले वर्षौँदेखि हात्ती पीडित बन्दै आएका मेचीनगरका स्थानीयवासीमा उत्साह जगाएको छ। मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले सर्वसाधारणको जीउधनको सुरक्षाका लागि नेपाल सरकारले सुरक्षाकर्मी परिचालन गर्ने खबर स्वागतयोग्य रहेको बताउँदै हात्ती नियन्त्रणका लागि प्रशिक्षण प्राप्त सुरक्षाकर्मी खटाउन सुझाव दिएका छन्। त्यसैगरी तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारीले भारतीय क्षेत्रबाट हात्तीको बथान भित्रिन नदिने र स्थानीयवासीलाई सुरक्षित महसुस गराउने ठोस कार्ययोजनासहित सरकार अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन्।