राप्रपाको महाधिवेशन मंसिरमा हुने, यस्तो छ कार्यतालिका
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
158
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। बिहीबार सम्पन्न बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका स्वीकृत गरेको पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताए।
बैठकले निर्वाचन समितिद्वारा प्रस्तुत नियमावली र निर्देशिकालाई समेत आवश्यक परिमार्जनसहित पारित गरेको उनले जानकारी दिए। बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी अध्यक्ष लिङदेनले शुक्रबार बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि मुख्य एजेन्डाहरू तय गरिएको समेत बताए।
प्रस्तावित कार्यतालिकाअनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गरिनेछ भने असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको कार्य पूरा गर्ने लक्ष्य राखिएको छ। महाधिवेशन प्रतिनिधिको छनोट र योग्यताका सम्बन्धमा पार्टीको विधान र परिमार्जित निर्वाचन निर्देशिकाले स्पष्ट पार्ने अध्यक्ष लिङदेनले जानकारी दिए।
पार्टीको भावी संरचना र केन्द्रीय कार्य समितिको स्वरूप निर्धारणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ। उक्त समितिले प्रस्ताव गर्ने विधान महाधिवेशनमा प्रस्तुत गरिने र सोही विधान बमोजिम नयाँ कार्यसमिति चयन हुने राप्रपाले जनाएको छ। बैठकमा महाधिवेशनको तयारीका साथै अन्य समसामयिक राजनीतिक विषयहरूमा समेत सघन छलफल भएको थियो।