arrow

तराईमा जलवायु-अनुकूलित धान उत्पादनमा दक्षिण कोरियाको दुई अर्ब अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
south-korea-nepal-05-03.jpg

काठमाडौँ। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन वृद्धि गर्न दक्षिण कोरियाले करिब दुई अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयबीच परियोजना कार्यान्वयनका लागि असार ४ गते सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दक्षिण कोरियाले कोइका मार्फत सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने ६ वर्षे परियोजनाका लागि एक अर्ब ८१ करोड रुपैयाँ (करिब एक करोड २० लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग प्रदान गर्नेछ।

मन्त्रालयका अनुसार यो परियोजना नेपालमा कृषि क्षेत्रमा हालसम्म सञ्चालन भएका अन्तर्राष्ट्रिय सहयोग कार्यक्रममध्ये सबैभन्दा ठूलोमध्ये एक हुनेछ। साथै, कोइका मार्फत नेपालमा कार्यान्वयन हुने हालसम्मकै सबैभन्दा ठूलो द्विपक्षीय परियोजनाका रूपमा पनि रहेको बताइएको छ।

परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ।

यस कार्यक्रमअन्तर्गत जलवायु अनुकूल कृषि प्रविधिको विस्तार, गुणस्तरीय धानको बीउ प्रणाली सुदृढीकरण, बाली कटानीपछिको व्यवस्थापन सुधार तथा किसान र कृषि उद्यमीका लागि बजार पहुँच विस्तारमार्फत धानको उत्पादकत्व वृद्धि गरी नेपालको खाद्य सुरक्षा मजबुत बनाउने लक्ष्य राखिएको छ।

परियोजना कार्यान्वयन कोइकाले कृषि मन्त्रालय तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालयहरूसँगको सहकार्यमा गर्नेछ। साथै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (इरी) ले प्राविधिक सहयोग प्रदान गर्नेछन्।

परियोजनाले जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै जलवायु अनुकूलित धानको बीउ प्रणालीलाई सुदृढ बनाउने, सुधारिएका धानका जातहरूको विकास तथा विस्तार गर्ने र बदलिँदो मौसमीय अवस्थाअनुसार कृषि उत्पादनलाई दिगो बनाउने विषयमा विशेष जोड दिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ