दुर्लभ कृष्णसारको संख्या सात गुणाले बढ्यो, संरक्षणलाई नयाँ रणनीतिको खाँचो
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
280
Shares
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ। करिब डेढ दशकअघि ४२ ओटा कृष्णसारबाट शुरू गरिएको संरक्षण अभियानले उल्लेखनीय सफलता हासिल गरेको भए पनि बढ्दो सङ्ख्यासँगै नयाँ चुनौती थपिएको छ । अब संरक्षणभन्दा व्यवस्थापन जटिल बन्दै गएको छ।
निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार संरक्षण क्षेत्रमा ८१ वयस्क भाले, २० अर्धवयस्क भाले, १०२ वयस्क पोथी, २६ अर्धवयस्क पोथी र ८४ पाठापाठी रहेका छन्। संरक्षण कार्यक्रम सफल भएकै कारण कृष्णसारको सङ्ख्या निरन्तर बढिरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए।
तर एउटै सीमित क्षेत्रमा बढ्दो सङ्ख्या राखिरहनु आफैँमा जोखिमपूर्ण बन्दै गएको छ। धेरै जनावर एउटै घेराभित्र हुँदा रोगको जोखिम बढ्ने, वंशानुगत विविधता घट्ने र बासस्थानमा चाप पर्ने भएकाले प्राकृतिक बासस्थानमा खुला रूपमा छाड्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विकल्पबारे अध्ययन भइरहेको निकुञ्जले जनाएको छ।
वन तथा वातावरण मन्त्रालयले शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले–पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनःस्थापना गर्ने तयारी थालेको छ। विज्ञहरूका अनुसार दीर्घकालीन संरक्षणका लागि एउटै क्षेत्रमा सीमित राख्नुको सट्टा विभिन्न उपयुक्त बासस्थानमा विस्तार गर्नु आवश्यक छ।
हाल हीरापुरमा ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरी कृष्णसार संरक्षण गरिएको छ। सन् २०१२ मा सात दशमलव पाँच हेक्टर क्षेत्रबाट शुरू भएको यो कार्यक्रम विस्तार हुँदै अहिलेको अवस्थामा पुगेको हो। तर संरक्षण क्षेत्र विस्तारसँगै स्रोत र बजेटको चुनौती पनि बढ्दै गएको छ।
प्राकृतिक बासस्थानमा कृष्णसारलाई छाड्दा चितुवा, भुस्याहा कुकुर र चोरी सिकारीको जोखिम त छँदैछ, छाडा चौपायाबाट सर्ने सङ्क्रामक रोग पनि अर्को चुनौती बनेको छ। निकुञ्जले चरन क्षेत्र संरक्षण, घाँसे मैदान व्यवस्थापन र अतिरिक्त आहारको व्यवस्था गर्दै आए पनि नियमित बजेट अभावले दीर्घकालीन व्यवस्थापनमा कठिनाइ थपिएको जनाएको छ।
शुक्लाफाँटामा कृष्णसार संरक्षणको यात्रा आफैँमा प्रेरणादायी छ। नेपालगञ्ज, ललितपुर र बर्दियाबाट विभिन्न चरणमा ल्याइएका ४२ वटा कृष्णसारको सङ्ख्या बढेर अहिले ३१३ पुगेको छ, जुन करिब सात गुणा वृद्धि हो। यसले नेपालमा दुर्लभ वन्यजन्तु संरक्षण सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
तर संरक्षणको वास्तविक सफलता सङ्ख्या बढाउनुमा मात्र सीमित हुँदैन। बढ्दो जनसङ्ख्यालाई सुरक्षित, स्वस्थ र प्राकृतिक वातावरणमा दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सक्नु नै अर्को ठूलो परीक्षा हो। यदि समयमै वैज्ञानिक व्यवस्थापन र पर्याप्त स्रोत सुनिश्चित गर्न सकिएन भने आजको उपलब्धि भोलिको समस्यामा रूपान्तरण हुन सक्छ।
यसैबीच, हीरापुर संरक्षण क्षेत्र आन्तरिक पर्यटकको आकर्षणसमेत बन्दै गएको छ। स्थानीयले घरबास कार्यक्रम सञ्चालन गरी कृष्णसारसँग जोडिएको पर्यापर्यटन विकासको सम्भावना देखेका छन्।
संरक्षण र स्थानीय आयआर्जनबीच सन्तुलन कायम गर्न सकिए शुक्लाफाँटा दुर्लभ वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्यका रूपमा पनि थप स्थापित हुने अपेक्षा गरिएको छ।