नेपालका उच्च हिमाली जंगलहरूमा जाडो बिस्तारै हट्दै वसन्त शुरू हुने समयमा एउटा अत्यन्तै दुर्लभ प्राकृतिक चमत्कार देखा पर्छ। हिउँ पग्लिँदै गर्दा र झरेका सल्लाका सुईराबीचको चिसो ओसिलो माटोमा गुची च्याउ बिस्तारै उम्रिन थाल्छ ।
यसलाई स्थानीय भाषामा ठाउँ अनुसार बेग्दाबेग्लै नामले पुकारिन्छ । सोलुमा यसलाई पँहेले च्याउ भनिन्छ । त्यहाँ पँहेलो हुन्छ ।
अन्तर्राष्ट्रिय जगतमा यसलाई गुची भनेर चिनिन्छ । यसको वैज्ञानिक नाम भने मोर्सेला हो । यो च्याउ विश्वकै सबैभन्दा महँगो जंगली खाद्य वस्तुहरू मध्ये एक मानिन्छ । यसको अनौठो स्वाद, दुर्लभता र जैविक रहस्यले यसलाई केवल खानाको रूपमा होइन, एक प्राकृतिक सम्पदाको रूपमा पनि स्थापित गरेको छ ।
नेपालका माथिल्ला भूभागहरु जस्तै डोल्पा, हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, मनाङ, बझाङ र दार्चुला, ताप्लेजुङ, पाँचथर, सोलुखुम्बू जस्ता दुर्गम हिमाली जिल्लाहरूमा यो च्याउ वैशाखदेखि साउनसम्म भेटिन्छ ।
सामान्यतया तीन हजार मिटरभन्दा माथि पाइने हुनाले यी क्षेत्रमा अन्य खेती प्रायः असम्भव हुन्छ । भए पनि एक बालीमात्र हुन्छ । एक बालीका कारण यहाँको जीवन अत्यन्त कठिन बन्छ । खेती उत्पादन नियमित नहुँदा अन्य आर्थिक अवसर पनि खासै प्राप्त हुँदैनन् तर यही कठोर वातावरणमा प्रकृतिले एक मौसमी बहुमूल्य उपहार लुकाएर राखेको पाइन्छ ।
उक्त जंगली धन माटो मुनि, सल्लाका पातले छोपिएको अवस्थामा पाइन्छ । पूर्वतिरका स्थानीयहरुले यसलाई गाडधन पनि भनिन्थ्ये । पश्चिममा यसलाई जंगली सुन पनि भन्छन् । यसै नामबाट पनि यसको विश्व बजारमा महत्व रहेको पुष्टि हुन्छ ।
वैज्ञानिक वर्णन अनुसार गुची च्याउ मोर्सेल प्रजातिको च्याउ हो । यसबारे खासै धेरै अनुसन्धान भएको छैन । यो नेपालकै हिमाली भागमा पाइने यार्सागुम्बा नै त होइन तर उत्पादनको प्रकृति निकै नै मिल्दोजुल्दो छ । सामान्यतया दुई देखि चार हजर मिटरको उचाइमा सल्लो, धुपी, कट्टुस आदिका जंगलमा तापक्रम र ओस बढ्दै गएपछि यो च्याउ फल्छ ।
वैज्ञानिकहरूले माटोको आर्द्रता, सूक्ष्म जीवाणुहरूको विविधता र हिउँ पग्लिएपछि हुने वातावरणीय परिवर्तनसँग यसको सम्बन्ध देखाएका छन्, तर यसको जीवनचक्रका धेरै पक्ष अझै रहस्यमय छन् । आजसम्म पनि यसलाई ठूलो मात्रामा खेती गर्न सकिएको छैन । त्यसैले यार्सागुम्बा जस्तै यो च्याउ पनि जंगलबाटै संकलन गरिन्छ ।
संकलन गरिसकेपछि गुची च्याउको स्वरूप मात्र होइन, यसको मूल्य पनि परिवर्तन हुन्छ। ताजा च्याउलाई सफा गरेर सितलमा सुकाइन्छ । सिधै घामा सुकाए घाम गनाउँछ । त्यसैले छाँयामा सुकाइन्छ । तौल घटेपछि यसको स्वाद अझ बेजोड बन्दछ । यसको बास्ना पनि अझ प्रगाड बन्दछ ।
जब गुचीको बास्ना फैलिन्छ, तब खरीदेहरु सलबलाउँन थाल्छन् । व्यापाीहरुको लामो सञ्जाल पार गर्दै भारत हुँदै विदेशी बजारमा नेपाली गुची पुग्दछ । पछिल्लो तथ्यांक अनुसार सुख्खा गुचीको मोल ठाउँ हेरी एक सय २० डलर देखि एक हजार डलर प्रतिकेजीका दरमा बिक्री हुन्छ ।
नेपालमै भने त्यही आठ, दश हजारमा जान्छ । यसको बजार खाडीका धनाढ्य सामु हजार डलरसम्म छ । सोलुका गाउँमा भने मात्र हजारमा पनि भेटिन्छ । यसको स्वाद र माग अनुसार उपलब्ध हुन नसक्नु नै यसको मूल्यको कडी हो । हिमाली क्षेत्रमा जलवायु संकट देखिनु, वर्षा अनियमित हुनु , वन विनाशले नेपालका जंगलमा यो च्याउ पनि घट्दै गएको छ ।
हुन त नेपालका हिमाली गाउँमा गुची विलासिता होइन, सकतबीच जीवन धान्ने अवसर मात्र हो । यहाँका धेरै परिवारका लागि गुची संकलनको छोटो मौसम नगद आम्दानीको प्रमुख स्रोत हुन्छ ।
सम्पूर्ण परिवार जंगलतिर लाग्छन् र घण्टौं पैदल हिँडेर च्याउ खोज्छन् । यसको ज्ञान पुस्तौँदेखि पुस्तामा हस्तान्तरण हुँदै आएको छ, जसमा मौसम, हिउँ पग्लिने समय, माटोको अवस्था र जंगलको प्रकारको गहिरो बुझाइ समावेश हुन्छ । यो छोटो सिजनमा कमाएको आम्दानीले परिवारलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न र अन्य आवश्यक खर्च पूरा गर्न सहयोग गर्छ ।
स्थानीय समुदायको गुच्छीसँगको सम्बन्ध केवल आर्थिक होइन, सांस्कृतिक र ज्ञानमा आधारित पनि हो । गाउँलेहरू वैज्ञानिक शब्द प्रयोग गर्दैनन्, तर उनीहरू प्रकृतिको संकेतहरू राम्रोसँग पढ्छन्—जस्तै हिउँ पग्लिने ढाँचा, माटोको चिस्यान, जंगलको अवस्था र मौसमी परिवर्तनहरू ।
कतिपय समुदायहरू वन डढेलो वा माटोको अव्यवस्थित अवस्था पछि गुची बढी देखिन्छ भन्ने विश्वास गर्छन्, जुन केही हदसम्म आधुनिक अनुसन्धानसँग पनि मेल खान्छ ।
यसको भविष्य चुनौतीपूर्ण छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने र पग्लिने चक्र परिवर्तन हुँदै गएको छ, जसले च्याउ उत्पादनमा प्रत्यक्ष असर पार्छ । वन विनाश, अनियन्त्रित संकलन र अपरिपक्व च्याउ टिप्ने अभ्यासले पनि दीर्घकालीन उत्पादनलाई खतरामा पारिरहेको छ । गुच्छी खेती गर्न नसकिने प्राकृतिक स्रोत भएकाले यसको अस्तित्व पूर्ण रूपमा वन र वातावरणीय सन्तुलनमा निर्भर छ ।
सामान्यतया जब हिमाली तापक्रम १० डिग्री नाघ्छ, त्यसपछि गुची टुसाउँछ । तापक्रम बढेर १८ पुग्दा खानयोग्य बन्छ । सामान्यतया अलि अम्लिय माटोमा उत्पादन हुन्छ । पानी नजम्ने तर प्रसस्त ओस भएको ठाउँमा फल्छ ।
यार्सागुम्बा जस्तै गुचीको पनि व्यावयासयिक खेतीको प्रयास भने नभएको होइन । यो च्याउ खेती गर्न विश्वभर प्रयास भइरहेको छ, तर यो अझै ठूलो चुनौती बनेको छ । यो साधारण खेतीयोग्य च्याउजस्तो होइन । यसको वृद्धि प्रक्रिया माटोका सूक्ष्म जीवाणु, वनस्पति, जलवायु र जैविक संकेतहरूको जटिल सम्बन्धमा निर्भर हुन्छ।
केही सीमित प्रयोगहरू सफल भए पनि व्यावसायिक स्तरमा उत्पादन सम्भव भएको छैन। त्यसो त नेपालमा यार्सागुम्बाको पनि कोषांषबाट विउ निकालेर ग्रिनहाउसमा खेती नगरिएको होइन तर यसको भाउ जंगलीजस्तो परेन ।
विश्व बजारमा गुची च्याउलाई उच्चस्तरीय (लक्जरी) खाद्य सामग्रीको रूपमा लिइन्छ। तर यसको वास्तविक कथा नेपालको हिमाली गाउँहरूमा लुकेको छ—जहाँ यो च्याउ केवल खाना होइन, जीविकोपार्जनको आधार हो, प्रकृतिसँगको सम्बन्ध हो र पुस्तौँदेखि चल्दै आएको ज्ञान प्रणाली हो ।
गुची च्याउ नेपालको अदृश्य प्राकृतिक सम्पदाको प्रतीक हो। यो केवल एक च्याउ होइन, बरु हिमालयको जैविक विविधता, ग्रामीण जीवनको संघर्ष र प्रकृतिको गहिरो रहस्यको प्रतिनिधित्व हो। नेपालको भविष्यमा दिगो विकासको बाटो खोज्दा गुचीले देखाउने मुख्य सन्देश यही हो—प्रकृतिको संरक्षण बिना समृद्धि सम्भव छैन, र कहिलेकाहीँ सबैभन्दा मूल्यवान वस्तुहरू जंगलको मौनतामा लुकेका हुन्छन् ।
नेपालका ठूलाबढाका छोरी बुहारीले गुची ब्रान्डका ब्याग बोकेको प्रसंग सुनिन्छ । ब्यागमात्र होइन, गुची च्याउ पनि महँगै हुन्छ ।