arrow

एमालेसँग पार्टी एकताको सतही हल्लाको पछि नलाग्न नेपालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
madhav-nepal-05.jpg

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै पनि सम्भावना नरहेको स्पष्ट पारेका छन्।

शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका सतही हल्लाहरूको पछि नलाग्न पार्टी कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरे। मिडिया र सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचारले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै उनले वस्तुगत राजनीतिक परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिए।

पार्टी एकताको हल्लाले आफूलाई फोनको जवाफ दिँदा–दिँदै हैरान बनाएको उल्लेख गर्दै उनले भने, “सुनियो कि एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्ने रहेछ। तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन। एमालेसँग अहिले एकता सम्भव छ र? सम्भवै छैन। त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस्। भित्री अन्तर्विरोधहरू बुझ्न सक्नुपर्छ।”

पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई एकै ठाउँमा गोलबन्द गर्नु रहेको बताए। राष्ट्रिय हित, जनहित र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने मुख्य जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको उनको दाबी थियो।

उनले थपे, “देशको रक्षा गर्ने, राष्ट्रहितको रक्षा गर्ने र गणतन्त्र जोगाउने दायित्व हाम्रै हो। त्यसै हुनाले जनताको पक्षमा, राष्ट्रको पक्षमा, परिवर्तन र रूपान्तरणको पक्षमा स्पष्ट सोचका साथ हामी अगाडि बढ्नुपर्छ।”

आफ्नो पार्टीको सैद्धान्तिक लक्ष्यबारे प्रष्ट पार्दै नेता नेपालले नेपालको विशिष्ट भू-राजनीति र सामाजिक बनोट अनुसार ‘वैज्ञानिक समाजवाद’ र ‘नेपाली विशेषताको समाजवाद’ को जगमा अघि बढ्नुपर्ने उल्लेख गरे।

नेपालको आफ्नै गौरवशाली इतिहास रहेको स्मरण गर्दै उनले भने, “नेपाल बहुजातीय, बहुभाषिक र आफ्नै विशिष्ट संस्कृति भएको देश हो। हाम्रो देश कहिल्यै पनि कुनै वैदेशिक शक्तिको उपनिवेश बनेन। त्यसैले हामी आफ्ना पुर्खाहरूप्रति गौरवबोध गर्छौँ।”

नेता नेपालले पुर्खाहरूको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिहरूलाई समेटेर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे। (न्युज एजेन्सी नेपाल)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ