आइतबारदेखि रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, रवि र बालेनको सम्बोधन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
149
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन भोलि असार ७ गते आइतबारदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ।
महाधिवेशनको भव्य उद्घाटन सत्र आइतबार दिउँसो २ बजे भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा विशेष समारोहका बीच गरिनेछ। उद्घाटन समारोहलाई मौसम अनुकूल र व्यवस्थित बनाउन जर्मन प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ डोम निर्माण गरिएको छ। उद्घाटन सत्र समापन भएपछि महाधिवेशनको बाँकी बन्दसत्र भने चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिने कार्यतालिका रहेको छ।
ऐतिहासिक महाधिवेशनमा भाग लिनका लागि पार्टी सभापति रवि लामिछानेसहितका केन्द्रीय नेताहरू, देशभरीबाट चुनिएका प्रतिनिधि तथा पर्यवेक्षकहरू चितवन आइपुगिसकेका छन्। यसैगरी प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र (बालेन) साह आइतबार नै चितवन आउने कार्यक्रम तय भएको छ। महाधिवेशनको उद्घाटन सत्रलाई प्रधानमन्त्री साह र सभापति लामिछाने दुवैले विशेष सम्बोधन गर्नेछन्।
असार ९ गतेसम्म चल्ने यस महाधिवेशनले रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ। यसै महाधिवेशनमार्फत केन्द्रीय समितिको आकारलाई विद्यमान १३१ सदस्यीयबाट बढाएर १५१ वा १५८ सदस्यीय बनाउने गरी विधान संशोधनको प्रस्ताव समेत लैजाने तयारी गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई मर्यादित र अनुशासित बनाउन विशेष निर्वाचन आचारसंहिता, २०८३ जारी गरिसकेको छ, जसअनुसार आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लड्न पूर्ण रूपमा निषेध गरिएको छ। सम्भावित निर्वाचन प्रक्रियाका लागि ई–भोटिङ मेसिनको समेत व्यवस्था गरिएको भए पनि मुख्य पदहरूमा सर्वसम्मतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।