प्रधानमन्त्री पत्नीलाई नै अदालतले लगायो देश छाड्न प्रतिबन्ध
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
394
Shares
काठमाडौँ । स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ। अदालतले उनलाई देश छाड्न प्रतिबन्ध (ट्राभल ब्यान) समेत लगाएको छ।
शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई आफ्नो पासपोर्ट बुझाउन र अन्तिम फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिएका छन्। अदालतले गोमेजले देश छाड्न नपाउने प्रतिबन्धलाई पूर्ण रूपमा पालना गराउन देशका सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थलहरूमा निर्देशन जारी गरिने स्पष्ट पारेको छ।
राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएको यस मुद्दाको सुनुवाइको अन्तिम मिति भने अझै तोकिएको छैन।
के हो आरोप ?
न्यायाधीश पेइनाडोले अप्रिलमा गोमेजमाथि भ्रष्टाचार, ठुला कारोबार, व्यापारिक सम्बन्धमा अनियमितता र सार्वजनिक कोषको दुरुपयोगको औपचारिक आरोप लगाएका थिए। उनले सन् २०२४ को अप्रिलदेखि नै गोमेजले प्रधानमन्त्रीकी श्रीमतीको हैसियत प्रयोग गरेर निजी फाइदा लिएको वा नलिएको भन्ने विषयमा अनुसन्धान सुरु गरेका थिए।
यो मुद्दा म्याड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयमा गोमेजले सह–निर्देशन गरेको एक पदको स्थापना तथा व्यवस्थापन र सार्वजनिक स्रोत एवं व्यक्तिगत सम्बन्धलाई निजी हितमा प्रयोग गरेको आरोपमा केन्द्रित छ।
सरकारलाई कमजोर पार्ने खेल : प्रधानमन्त्री सान्चेज
गोमेज र प्रधानमन्त्री सान्चेज दुवैले सुरुदेखि नै यी आरोपहरूको खण्डन गर्दै आएका छन्। गोमेजले आफूले कुनै पनि गल्ती नगरेको दाबी गरेकी छन् भने प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथिका आरोपहरूलाई दक्षिणपन्थी शक्तिहरूले सरकारलाई कमजोर पार्ने राजनीतिक प्रपञ्च भएको बताएका छन्।
अर्कोतर्फ, विपक्षी दलहरूले भने यसै मुद्दालाई हतियार बनाउँदै प्रधानमन्त्री सान्चेजको राजीनामा माग गरिरहेका छन्। दक्षिणपन्थी विचारधारसँग जोडिएको एक भ्रष्टाचारविरोधी समूहले दायर गरेको उजुरीबाट यो मुद्दा अगाडि बढेको हो।
यो घटना समाजवादी नेता सान्चेजको परिवार र उनका पूर्व सहयोगीहरूसँग जोडिएका विभिन्न भ्रष्टाचार प्रकरणहरूमध्ये सबैभन्दा पेचिलो बनेको छ, जसका कारण सान्चेजको अल्पमत गठबन्धन सरकार यतिबेला ठुलो राजनीतिक दबाबमा परेको छ।