कोशीमा मनसुन सक्रिय हुँदा पहाडी भू-भागमा वर्षा, सुदूरपश्चिम र लुम्बिनीको तराईमा तातो लहरको सास्ती
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
253
Shares
काठमाडौँ । हाल देशमा कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका भागमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान छ।
यसै गरी, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ। विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहँदा तराईका क्षेत्रमा भने गर्मी बढ्ने देखिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (लु) को सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहनेछ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ। कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। राति कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहर (लु) को सम्भावना रहेका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, मौसममा आउने परिवर्तनबारे बुझ्न महाशाखाका मौसमसम्बन्धी सूचनाहरूमा नियमित अद्यावधिक (अपडेट) रहन समेत अनुरोध गरिएको छ।