arrow

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपति पौडेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
ramchandra-poudel-11-12.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई केवल व्यायाम मात्र नभई दैनिक जीवनशैलीकै रूपमा अपनाउन सम्पूर्ण नेपालीहरूमा आग्रह गरेका छन्।

बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेलले योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको उल्लेख गरे। यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने भन्दै उनले यसलाई वैज्ञानिक मानवीय जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिए। योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने उनको धारणा थियो।

आफ्नो शुभकामना सन्देशमा उनले योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको समेत उल्लेख गरे।

राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गका रूपमा स्थापित गर्दै यसको विकासका लागि थप कार्य गर्न आवश्यक भएको बताए। योग अभ्यासबाट दैनिक कार्यक्षमता, रोग प्रतिरोधात्मक क्षमता र पाचन प्रणाली सुदृढ हुने तथा सकारात्मक सोचको विकास भई आन्तरिक ऊर्जा प्राप्त हुने विश्वास उनले व्यक्त गरे। योगले ज्ञान, कर्म, चेतना र स्थिरतातर्फ डोर्‍याउने भएकाले स्वस्थ जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुग्ने उनको सन्देशमा उल्लेख छ।

विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश भएको बताउँदै राष्ट्रपति पौडेलले आधुनिक जीवनमा बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाबाट प्रभावित मानव जीवनलाई सहज, सरल र स्वस्थ बनाउन योग अपरिहार्य रहेको स्पष्ट पारे।

सन्देशको अन्त्यमा उनले विश्व योग दिवसले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ तथा सुखी रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ