रास्वपाका लागि प्रथम राष्ट्रिय महाधिवेशन दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर : गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
197
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै सभापति थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गरेको र राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरेका हुन्।
उनले आफ्नो सन्देशमा रास्वपा सभापति र सम्पूर्ण रास्वपा परिवारलाई सम्बोधन गर्दै सङ्गठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय रहेको उल्लेख गरेका छन्।
यसै गरी, सभापति थापाले यो प्रथम महाधिवेशन रास्वपाका लागि विचार, सङ्गठन र नीतिका दृष्टिले अझ बढी परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।
यस महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न, संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न तथा पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउन नयाँ गति र ऊर्जा प्रदान गर्ने अपेक्षा समेत उनले लिएका छन्।