arrow

रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा भाग लिन कांग्रेस सभापति थापा चितवन जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
gagan-thapa-01-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन्। 

यसअघि कांग्रेसका तर्फबाट उपसभापति पुष्प भुसाल जाने तय भए पनि आइतबार बिहान सभापति थापा आफैँ उद्घाटन सत्रमा शुभकामना दिन चितवन जाने निर्णय भएको हो।

भरतपुरको गेष्टहाउस चौरमा आयोजना हुन लागेको रास्वपाको यस ऐतिहासिक महाधिवेशनको उद्घाटन दिउँसो २ बजे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र साहबाट संयुक्त रूपमा हुने कार्यक्रम रहेको छ।

चितवन प्रस्थान गर्नुअघि आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै सभापति थापाले रास्वपाको राजनीतिक यात्राको प्रशंसा गरेका थिए। पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गरी राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गर्न सफल भएको भन्दै उनले नेतृत्वको सराहना गरे।

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना ! पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ । तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ ।’

यस महाधिवेशनले रास्वपालाई विचार, सङ्गठन र नीतिका दृष्टिले अझ बढी परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्न ऐतिहासिक अवसर प्रदान गर्ने विश्वास समेत सभापति थापाले व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ