arrow

एन्टीरेबिज खोपको देशव्यापी अभाव

देशभर रेबिजको खोप अभाव [भिडियो]

४५ सय भायल नेपाल भित्रियो, खरिद प्रक्रिया सहज बनाउन कानूनी सुधार गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
samirkumar-adhikari-08-03.jpg

काठमाडौँ। सरकारले समयमै खरिद प्रक्रिया अघि नबढाउँदा देशभर एन्टीरेबिज भ्याक्सिन (एआरभी) को अभाव भएको छ। विश्वव्यापी मूल्यवृद्धि, मुद्रास्फीति, विदेशी मुद्रा विनिमय दरमा आएको परिवर्तन तथा पश्चिम एसियामा जारी तनावका कारण खरिद प्रक्रिया प्रभावित हुँदा अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा खोप आपूर्ति प्रभावित भएको हो ।

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि लगाइने एन्टीरेबिज खोप समयमै उपलब्ध हुन नसक्दा सेवाग्राहीले समस्या भोगिरहेका छन् । चिकित्सकहरूका अनुसार जनावरले टोकेपछि सकेसम्म छिटो खोप लगाउन आवश्यक हुन्छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीले पुरानो दररेटमा खोप खरिद सम्भव नभएकाले नयाँ मूल्यअनुसार टेन्डर प्रक्रिया अघि बढाउँदा ढिलाइ भएको बताएका छन् ।

उनका अनुसार करिब पाँच लाख भायल एन्टीरेबिज खोप खरिदका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यद्यपि आपूर्ति प्रक्रिया भने अझै शुरू भएको छैन ।

अधिकारीले विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा आकस्मिक रूपमा खोप उपलब्ध गराएर व्यवस्थापन गरिएको दाबी गरेका छन् ।

उनका अनुसार आइतबार मात्र चार हजार पाँच सय भायल एन्टीरेबिज खोप नेपाल भित्रिएको छ, जसले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको करिब एक महिनाको आवश्यकता धान्न सक्नेछ ।

उनले असार १६ गतेभित्र खरिद सम्झौता सम्पन्न भई थप खोप आपूर्ति प्रक्रिया शुरू हुने जानकारी दिएका छन् । साथै आगामी आर्थिक वर्षमा रेबिजविरुद्धको खोप अभाव हुन नदिने गरी तयारी भइरहेको बताएका छन् ।

सर्पदंश उपचारका औषधिमा पनि चिन्ता

वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला सर्पदंश उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनमको उपलब्धताबारे पनि चासो बढेको छ । विभिन्न क्षेत्रबाट अभावको गुनासो आए पनि सरकारले भने आवश्यक औषधि पर्याप्त रहेको दाबी गरेको छ ।

डा. अधिकारीका अनुसार एन्टिस्नेक भेनम खरिद प्रक्रिया सम्पन्न भइसकेको छ र आपूर्तिकर्तालाई औषधि उपलब्ध गराउन भनिसकिएको छ । उनका अनुसार १३ हजार २०० भायल औषधि आपूर्ति हुने प्रक्रियामा रहेको छ ।

उनले सर्पदंश उपचार केन्द्रहरूमा आवश्यक औषधि उपलब्ध रहेको र तत्काल अभावको अवस्था नरहेको बताएका छन्।

रेबिज र सर्पदंश दुवै उपचारसँग सम्बन्धित औषधि तथा खोप आपूर्ति प्रक्रियामा रहेकाले आगामी दिनमा समस्या नहुने उनको दाबी छ ।

खरिद प्रक्रिया सहज बनाउन कानुनी सुधारको तयारी

अत्यावश्यक औषधि तथा खोप आपूर्तिमा पटक-पटक समस्या देखिएपछि सरकारले सार्वजनिक खरिद प्रक्रियालाई थप सहज बनाउने तयारी थालेको छ ।

डा. अधिकारीका अनुसार पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा गरिएका सिफारिसलाई आधार बनाएर सार्वजनिक खरिदसम्बन्धी कानूनी व्यवस्थामा आवश्यक परिमार्जनको काम अघि बढाइएको छ ।

उनले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा सुधार गरी अत्यावश्यक अवस्थामा औषधि र खोप छिटो खरिद गर्न सकिने व्यवस्था बनाइँदै गरेको जानकारी दिएका छन् ।

मनसुनको समयमा विशेषगरी तराई-मधेस क्षेत्रमा सर्पदंशका घटना बढ्ने र हरेक वर्ष सयौँ नागरिकले ज्यान गुमाउने गरेकाले सरकारले आगामी आर्थिक वर्षमा रेबिज तथा सर्पदंशविरुद्धका खोप र औषधिको अभाव हुन नदिने गरी तयारी गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ