पार्टी महाधिवेशन अस्तव्यस्त भएसँगै हात्ती प्रजनन् केन्द्र पुगे बालेन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
476
Shares
भरतपुर । रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र साह बालेनले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन् तथा तालिम केन्द्रको विशेष निरीक्षण गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री साह सोमबार परिवारसहित तालिम केन्द्र पुगेका हुन्।
पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री साहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ।
हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री साहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानकारी लिएका थिए।
निरीक्षणका क्रममा उनले केन्द्रको व्यवस्थापन, हात्तीहरूको स्वास्थ्य अवस्था र सुत्केरी तथा बच्चा हात्ती (छावा) हरूको स्याहार-सुसार कसरी भइरहेको छ भन्नेबारे प्रत्यक्ष अवलोकन गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहँदा बिहान साढे आठ बजे शुरू हुनुपर्ने बन्दसत्र दिउँसोसम्म पनि चल्ने छाँट नदेखेपछि उनी निरीक्षणतिर लागेका हुन् ।
महाधिवेशनमा भाग लिन देशभरका नेता तथा कार्यकर्ताहरू चितवनमा केन्द्रित भएका छन्।