करारखेती कार्यक्रमबाट किसान आत्मनिर्भरतर्फ, आयआर्जनमा उल्लेख्य वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
213
Shares
कैलाली। कैलालीको गौरीगङ्गा नगरपालिकाले सञ्चालन गरेको करारखेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
नगरपालिकाले भाडामा लिएको जग्गामा तरकारी तथा फलफूलखेती शुरू गरेपछि किसानको आयआर्जनमा वृद्धि हुनुका साथै आत्मनिर्भरतर्फ उन्मुख भएका छन्।
नगरपालिकाले स्थानीयको पाँच बिघा जमिन वार्षिक एक लाख ८३ हजार रुपैयाँ भाडामा लिएर पाँच वर्षका लागि जागृति पशु फलफूल तथा तरकारी कृषक समूहलाई उपलब्ध गराएको हो।
उक्त कार्यक्रमअन्तर्गत गत फागुनदेखि व्यावसायिक खेती शुरू गरिएको गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले जानकारी दिए।
हाल समूहका पाँच जना कृषकले उक्त जग्गामा तरकारी र फलफूल उत्पादन गर्दै जीविकोपार्जन गरिरहेका छन्। कार्यक्रमबाट सकारात्मक नतिजा प्राप्त भएपछि नगरपालिकाले अन्य क्षेत्रमा समेत विस्तार गर्ने तयारी गरेको जनाएको छ।
समूहका सचिव राजेश बुढाका अनुसार नगरपालिकाले सहुलियत भाडादरमा जग्गा उपलब्ध गराएपछि किसानले व्यावसायिक खेती गर्न सहज भएको छ। अहिले उनीहरूले बेमौसमी फर्सी, लौका, भिन्डी, बोडी, भान्टा, खुर्सानी र वसन्ते मकै उत्पादन गरिरहेका छन्।
यसका साथै आगामी मौसममा काउली, बन्दागोभी, ब्रोकाउली, सिमी, गाजर, मुला, धनियाँ, आलु र मटरलगायतका तरकारी उत्पादन गर्ने योजना पनि समूहले बनाएको छ।
समूहका अनुसार बेमौसमी तरकारी बिक्रीबाट हालसम्म करिब ७५ हजार रुपैयाँ तथा मौसमी तरकारी बिक्रीबाट चार लाख ५० हजार रुपैयाँ आम्दानी भएको छ।
स्थानीय बजारमै उत्पादनको सहज बिक्री हुने भएकाले सबै खर्च कटाएर समूहले एक लाख ५० हजार रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ।
नगरपालिकाका कृषि प्राविधिक विनोद चौधरीले आफ्नै खेतीयोग्य जमिन नभएका कृषकलाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले शुरू गरिएको करारखेती कार्यक्रमले छोटो समयमै उत्साहजनक सफलता हासिल गरेको बताए।
उनले यस्तो कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय कृषि उत्पादन र रोजगारी प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।रासस