हवाई उद्योग सुदृढ नगरी देशको उन्नति असम्भव तर तत्काल लगानी गर्नसक्ने अवस्थामा सरकार छैन: मन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
180
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्कालै आफैँ लगानी गरेर ठुलै केही गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। सोमबार मन्त्रालयमा आयोजित ‘नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा’ सम्बन्धी विशेष संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री पौडेलले नेपाल भूपरिवेष्ठित मुलुक भएकाले र पर्यटन क्षेत्रबाट राष्ट्रले ठुलो आर्थिक आकाङ्क्षा राखेकाले देशको समग्र विकासमा हवाई उद्योगको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि असम्भव रहने निष्कर्ष सुनाए।
मन्त्रालय सम्हालेको तीन महिनाको अनुभव बाँड्दै मन्त्री पौडेलले भने, "हामी जति सङ्ख्यामा पर्यटक भित्र्याउने आकाङ्क्षा राख्छौँ, त्यही अनुसार नीति र योजना त बनाउँछौँ तर हवाई क्षेत्रको अवस्था हेर्दा त्यो अनुकूल देखिँदैन। निजी वायुसेवा कम्पनीका साथीहरूको गुनासो मात्रै बढी छ, क्षेत्र सप्रिँदै जानुको साटो बिग्रिँदै गएजस्तो देखिन्छ। अर्कोतिर सरकार आफैँले पनि चाहेर तत्कालै केही गरिहाल्ने अवस्था छैन। यो क्षेत्र निकै जटिल (कम्पिलकेट) रहेछ। तर यसलाई यत्तिकै छोड्न मिल्दैन, कुनै न कुनै तरिकाले पार लगाउनै पर्छ। त्यसैले हामी यस क्षेत्रसँग सम्बन्धित अझ बढी अन्तर्दृष्टिपूर्ण (साइटफुल) बहसहरूमा केन्द्रित हुनेछौँ।"
युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा सूची (ब्ल्याक लिस्ट) मा नेपाली विमानहरूमाथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा सरकार गम्भीर रहेको मन्त्री पौडेलले दाबी गरे। सो प्रतिबन्धबाट फुकुवा हुनका लागि आवश्यक नीतिगत, कानुनी सुधारहरू र सुरक्षाका मापदण्डहरूलाई पूरा गर्दै लैजाने कामलाई सरकारले अघि बढाएको उनले उल्लेख गरे।
कार्यक्रममा बोल्दै नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले चरम आर्थिक समस्याका कारण नेपालको हवाई उड्डयन क्षेत्रमा सुरक्षाको प्रश्न समेत उठ्ने गरेको भन्दै चिन्ता व्यक्त गरे। उनले निगम आफैँले पनि हवाई सुरक्षाको अवस्थालाई भरपर्दो र सुदृढ बनाउनका लागि सरकारसँग पुँजी थप गरिदिन लामो समयदेखि निरन्तर माग गर्दै आउनु परेको गुनासो गरे।
निमित्त महाप्रबन्धक कालाखेतीले भने, "हामी व्यवस्थापनले उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरेर, कर्मचारीहरूको मनोबल उकास्दै हवाई सुरक्षा र नियमनकारी निकायको निर्देशन अनुसार काम गरिरहेका छौँ। निजी क्षेत्रको पाटोमा निर्णयहरू छिटो हुने भए पनि सरकारी स्वामित्वको निगमलाई स्रोतसाधनको अभाव छ।" उपलब्ध स्रोत र साधनको उचित व्यवस्थापन गरेर अघि बढ्दा मात्रै नेपालको हवाई उडानको सुरक्षालाई पूर्ण रूपमा भरपर्दो र सुरक्षित बनाउन सकिनेमा उनले जोड दिए।