ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आवेदन खुला
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
122
Shares
काठमाडौँ। द्वन्द्व र जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि ब्रिटिस काउन्सिलले नेपालसहित १७ देशमा नयाँ चरणको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
सांस्कृतिक संरक्षण कोष (कल्चरल प्रोटेक्सन फन्ड) ले नेपालमा १० वर्ष पूरा गरेको अवसरमा ब्रिटिस काउन्सिलले जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि नयाँ अनुदान आवेदन खुला गरेको हो । यस कोषले समुदायलाई सशक्त बनाउन तथा इतिहास, पहिचान र आपसी सम्बन्धसँग जोडिएका सम्पदाको संरक्षणमा सहयोग गर्दै आएको छ ।
नेपालमा यस कोषमार्फत सञ्चालित प्रमुख परियोजनाहरू निम्नानुसार छन् :
जनकपुर महिला विकास केन्द्रलाई मैथिली महिलाले तयार पार्ने कलात्मक भित्ते चित्र र मूर्तिकलाको संरक्षण र पुनर्जीवनका लागि पाउन्ड स्टर्लिङ ५०,०००
शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज (डोल्पा) को उच्च हिमाली क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षणका लागि पाउन्ड स्टर्लिङ ३६,९०८
कुसुण्डा जातिको भावी पुस्ताका लागि भाषा र संस्कृतिको संरक्षणका लागि अर्काइभ नेपाललाई पाउन्ड स्टर्लिङ ४५,९६३
नेपालमा आदिवासी खाद्य सम्पदाको संरक्षणका लागि राष्ट्रिय आदिवासी महिला महासङ्घलाई पाउन्ड स्टर्लिङ ५०,०००
अनुदान घोषणाको अवसरमा ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले भने, “सांस्कृतिक सम्पदाले समुदायका कथा, परम्परा र पहिचान बोकेको हुन्छ । यिनको संरक्षण आगामी पुस्ताका लागि अत्यन्त महत्त्वपूर्ण छ । हामी बढीमा पाउन्ड स्टर्लिङ ५००,००० सम्मका अनुदानमार्फत सांस्कृतिक सम्पदा संरक्षणमा काम गर्ने व्यक्ति र संस्थालाई सहयोग गर्न चाहन्छौँ । यसका साथै उनीहरूको सीप विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि सहयोग गर्ने लक्ष्य हाम्रो छ ।”
आवेदनका लागि निर्धारित मिति
इच्छुक व्यक्ति वा संस्थाले २० जुलाई २०२६, सोमबार राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्नुअघि कल्चरल प्रोटेक्सन फन्डको वेबसाइटमा उपलब्ध आधिकारिक आवेदन निर्देशिका र बारम्बार सोधिने प्रश्न (एफएकी्यूज) राम्ररी अध्ययन गर्न आग्रह गरिएको छ ।
अनुदान र योग्यता
प्रस्तावित परियोजनाले दक्षिण एसिया (बङ्गलादेश, नेपाल, पाकिस्तान), मध्यपूर्व तथा उत्तरी अफ्रिका (इजिप्ट, इराक, जोर्डन, लेबनान, लिबिया, प्यालेस्टाइन, सिरिया, ट्युनिसिया वा यमन) र पूर्वी अफ्रिका (इथियोपिया, केन्या, सुडान, तान्जानिया वा युगान्डा) का जोखिममा रहेका सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सर्त राखिएको छ ।
इच्छुक संस्थाले पाउन्ड स्टर्लिङ ५००,००० सम्मको अनुदानका लागि आवेदन दिन सक्नेछन् । आवेदनसम्बन्धी पूर्ण जानकारी र आवेदन लिङ्क ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डको वेबसाइटमा उपलब्ध छ ।
कल्चरल प्रोटेक्सन फन्डबारे
सांस्कृतिक संरक्षण कोष (कल्चरल प्रोटेक्सन फन्ड) जोखिममा परेको सांस्कृतिक सम्पदाको संरक्षणका लागि संयुक्त अधिराज्य (यूके) ले अघि सारेको प्रमुख अन्तर्राष्ट्रिय पहल हो । संस्कृति, मिडिया र खेलकुद सम्बन्धी मन्त्रालय (डीसीएमएस) सँगको साझेदारीमा ब्रिटिस काउन्सिलको नेतृत्वमा सञ्चालित यस कोषले सन् २०१६ देखि २० देशमा १६० भन्दा बढी परियोजनालाई सहयोग उपलब्ध गराएको छ ।
ब्रिटिस काउन्सिलबारे
ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (यूके) को सांस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था हो । यसले कला, संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत विश्वका २०० भन्दा बढी मुलुक र भूभागका नागरिकसँग काम गर्दै आएको छ । सन् २०२४–२०२५ मा ब्रिटिस काउन्सिल ६०० मिलियन व्यक्तिसमक्ष पुगेको थियो ।