सुनको मूल्यमा ठूलो छलाङ, एक सातामै ११ हजार छ सय बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
184
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रति लगानीकर्ताको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ ।
पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य प्रतितोला ११ हजार छ सय रुपैयाँले बढ्दै दुई लाख ९० हजार सात रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते प्रतितोला दुई लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन असार १९ गतेसम्म आइपुग्दा दुई लाख ९० हजार सात सय रुपैयाँ पुगेको हो ।
बीचका दिनमा केही गिरावट देखिए पनि साताको अन्त्यतिर लगातार दुई दिन ठूलो दरले मूल्य बढेपछि सुनले पुनः उकालो यात्रा समातेको हो ।
महासंघका तथ्यांकअनुसार असार १४ गते सुन प्रतितोला चार हजार सातसय रुपैयाँले बढेर दुई लाख ८३ हजार आठ सय रुपैयाँ पुगेको थियो ।
त्यसपछि असार १५, १६ र १७ गते लगातार तीन दिन मूल्य घटेर क्रमशः दुई लाख ८२ हजार चार, दुई लाख ७७ हजार नौ र दुई लाख ७७ हजार तीन रुपैयाँमा कारोबार भयो ।
तर असार १८ गते एकैदिन छ हजार दुई रुपैयाँ र असार १९ गते थप सात हजार दुई रुपैयाँले मूल्य बढेपछि सुन हालसम्मकै उच्च मूल्य नजिक पुगेको छ ।
सुन व्यवसायीका अनुसार पछिल्ला दिनमा विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, विभिन्न क्षेत्रमा चर्किँदै गएको भूराजनीतिक तनाव, सम्भावित युद्धको जोखिम, प्रमुख मुलुकका केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाउने प्रवृत्ति तथा अन्तर्राष्ट्रिय बजारमा सुरक्षित सम्पत्तिको माग बढेकाले सुनको मूल्यमा दबाब परेको हो ।
अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी ब्याजदरसम्बन्धी अपेक्षाले पनि सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उनीहरूको भनाइ छ ।
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको दर, अमेरिकी डलरको विनिमय दर र आयात लागतका आधारमा निर्धारण हुने भएकाले विश्व बजारमा देखिएको उतारचढावको प्रभाव स्वाभाविक रूपमा नेपाली बजारमा पनि पर्ने गरेको छ ।
मूल्य लगातार बढेपछि सर्वसाधारणले गहना खरिद केही समयका लागि स्थगित गर्ने प्रवृत्ति देखिने भए पनि लगानीका रूपमा सुन खरिद गर्नेहरूको चासो भने बढ्ने गरेको व्यवसायीहरू बताउँछन् ।
यदि अन्तर्राष्ट्रिय तनाव तत्काल कम नभए र विश्व बजारमा सुरक्षित लगानीको माग उच्च रहिरह्यो भने आगामी दिनमा पनि सुनको मूल्य उच्च स्तरमै रहने वा थप बढ्न सक्ने अनुमान व्यवसायीहरूको छ ।
तर विश्व राजनीतिक अवस्था र अमेरिकी मौद्रिक नीतिमा आउने परिवर्तनले मूल्यको दिशा परिवर्तन गर्न सक्ने भएकाले बजारमा उतारचढाव भने कायम रहने अपेक्षा गरिएको छ।