फ्रान्स–बेलायत हर्मुज सुरक्षित बनाउन सक्रिय, ओमानसँग सहकार्य
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
392
Shares
परिस । फ्रान्सले हर्मुज जलडमरूमध्यबाट सुरक्षित नौवहन पुनःस्थपित गर्न पश्चिम एसियामा बारूदी सुरुङ हटाउने सामग्री तैनाथ गर्न लागेको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका छन् ।
बेलायत र फ्रान्सले सामरिक महत्वको यो जलमार्गबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न ओमानसँग मिलेर काम गर्ने र आवश्यक परे व्यापक बहुराष्ट्रिय अभियान तैनाथ गर्न तयार रहेको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक सन्देशमा राष्ट्रपति म्याक्रोँले भने, “फ्रान्सले मध्यपूर्वमा बारूदी सुरुङ हटाउने सामग्री तैनाथ गरेको छ, जसमा विशेष गरी दुई ‘माइनहन्टर’ दुई ‘फ्रिगेट’ र एक समुद्री गस्ती विमानको साथमा यी सामग्रीहरू हाम्रा साझेदारहरूसँग मिलेर हर्मुज जलमार्गमा पूर्ण रूपमा नौवहन पुनः सुरु गर्न र ट्राफिकको सुरक्षाको लागि योगदान दिन तयार छन्।”
“जुन १७ मा अमेरिका र इरानबीच भएको समझदारी पत्रको हस्ताक्षरले विशेष गरी हर्मुज जलडमरूमध्यमा नौवहन स्वतन्त्रतालाई पुनः पुष्टि गर्दै क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण कदम अघि बढाएको छ,” उनले थपे।
म्याक्रोँले ओमानका सुल्तान हेथम बिन तारिक अल सईदसँगको छलफलपछि फ्रान्सले आफ्नो सैन्य तैनाथी अनुकूलित गरेको बताए । “यो अनुकूल विकास र परिवर्तित आवश्यकतालाई ध्यानमा राख्दै, ओमानका सुल्तानसँगको रचनात्मक छलफलपछि मैले हाम्रो तैनाथीलाई अनुकूल बनाउने निर्णय गरेको छु।”
स्थानीय समयअनुसार शुक्रबार जारी संयुक्त विज्ञप्तिमा बेलायती प्रधानमन्त्री केइर स्टार्मर र म्याक्रोँले हर्मुज जलडमरूमध्यबाट नौवहन सुरक्षित गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “हर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रको लागि महत्वपूर्ण धमनी हो। सबै राष्ट्रका जहाजहरूका लागि यस जलडमरूमध्यबाट सुरक्षित आवतजावत पुनस्र्थापित गर्नु विश्वव्यापी चासोको विषय हो।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “ओमानका सुल्तानले बेलायत र फ्रान्ससँग मिलेर आफ्नो सार्वभौमिक क्षेत्रीय जल क्षेत्रलाई नौवहनका लागि सुरक्षित बनाउन काम गर्ने सहमति भइसकेको छ ।”
“बेलायत र फ्रान्स हर्मुज जलडमरूमध्यमा नौवहन स्वतन्त्रतालाई समर्थन गर्न व्यापक बहुराष्ट्रिय सैन्य मिसन तैनाथ गर्न पनि तयार छन्,” यूरोपेली नेताहरूले बताए ।
“बेलायत र फ्रान्सले क्षेत्रीय स्थिरता, सबै राज्यहरूको सार्वभौमिकताको सम्मान, र आफ्ना साझेदारहरूसँगको निकट सहकार्य कायम राख्दै विश्वव्यापी सुरक्षा, नौवहन स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनलाई कायम राख्ने आफ्नो साझा प्रतिबद्धता पुनः दोहो¥याएका छन्,” विज्ञप्तिमा उल्लेख छ।