संवैधानिक ग्यारेन्टी हुँदा पनि सञ्चार क्षेत्रमा चुनौती कायमै छ: हरिहर विरही
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
173
Shares
काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बाबजुद पनि नेपाली सञ्चार क्षेत्रमा अझै ठूला चुनौतीहरू कायम रहेको बताएका छन्। महासंघले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
पूर्वअध्यक्ष विरहीले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालको प्रेस जगत्ले आफ्नो कर्तव्य पूरा गर्न ठूलो मूल्य चुकाउनुपरेको स्मरण गरे। देशमा लोकतन्त्र नहुँदाको राजनीतिक परिस्थिति बेग्लै भए पनि वर्तमान संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिसकेको र परिवर्तनका हरेक आन्दोलनको नेतृत्व प्रेस जगत्ले गरिसकेको अवस्थामा समेत पत्रकारहरूले आफ्नो आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु दुःखद् भएको उनले उल्लेख गरे।
राज्यमा अझै पनि सूचना लुकाउने प्रवृत्ति र सही सूचनालाई गलत सावित गर्नका लागि विभिन्न प्रकारका प्रपञ्चहरू रच्ने कोसिस भइरहेको उनको जिकिर थियो। यो प्रवृत्तिलाई पत्रकार मात्र नभई आम पाठक, श्रोता र दर्शकहरूले समेत अनुभव गरिरहेको उनले बताए।
नेपाली पत्रकारितामा पछिल्लो समय देखिएको एउटा गम्भीर विकृतितर्फ संकेत गर्दै विरहीले भने, “हामीले देखेका छौँ, ठूलै र शक्तिशाली भनिने सञ्चार माध्यमले नै प्रमाणसहित एउटा मन्त्रीको बारेमा लेखेको समाचारलाई त्यस संस्थाका सञ्चालकले खण्डन गरेर माफी माग्नुपर्ने अवस्था आएको छ। यस्तो लज्जास्पद परिस्थिति यसअघि नेपालको इतिहासमा कहिल्यै उत्पन्न भएको थिएन।” उनले समाचारको सत्यता र प्रमाण हुँदाहुँदै पनि सञ्चालकहरूले व्यापारिक वा राजनीतिक स्वार्थका कारण खण्डन छाप्ने र माफी माग्ने प्रवृत्तिले प्रेस स्वतन्त्रतामाथि नयाँ संकट थपेको भन्दै चिन्ता व्यक्त गरे।