मुआब्जा विवाद सुल्झिएसँगै १८ किमी खण्डको निर्माणले लियो गति
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
267
Shares
काठमाडौँ । लामो समयदेखि जारी मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास रेलमार्ग अन्तर्गतको अन्तिम १८ किलोमिटर खण्ड निर्माणले गति लिएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गाको विवाद टुङ्गिएपछि अबको दुई वर्षभित्र बर्दिबाससम्मै रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम अघि बढाएको छ। अहिले धनुषा र महोत्तरी क्षेत्रमा धमाधम ट्र्याक निर्माणको कार्य भइरहेको छ।
कुल ७० किलोमिटर लामो यस निर्माणाधीन जयनगर–बर्दिबास रेलमार्गमध्ये जयनगरदेखि कुर्था खण्डमा भने २०७८ साल चैत १९ गतेदेखि नै नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ।
यसैबीच, नेपाल रेल्वे कम्पनीले विभिन्न स्थानमा अतिक्रमणमा परेको आफ्नो स्वामित्वको जग्गा खोज्न सुरु गरेको छ। रेल्वेको जग्गा अनधिकृत रूपमा प्रयोग भइरहेको पाइएपछि कम्पनीले आधिकारिक नक्साका आधारमा रेखांकन गर्दै जग्गाको खोजी र संरक्षण थालेको महाप्रबन्धक पराजुलीले बताए।
जयनगर–बर्दिबास रेलमार्ग नेपाल र भारतबीचको एउटा महत्त्वपूर्ण सीमापार ब्रोडगेज रेल परियोजना हो। नेपाल–भारत द्विपक्षीय सहकार्यअन्तर्गत बनिरहेको यो परियोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि दुई देशबीचको आवतजावत, व्यापार तथा आर्थिक गतिविधिलाई थप सहज बनाउने र नेपालको रेल पूर्वाधार विस्तारमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।